काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै ‘वान टु वान’ भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री नियुक्त भएको करिब चार महिनापछि शाहले पहिलोपटक विदेशी राजदूतसँग एक्लाएक्लै भेटवार्ता गर्न लागेका हुन् । यसअघि उनले कुनै पनि राजदूतसँग व्यक्तिगत भेट नगर्ने अडान लिँदै सामूहिक भेटवार्तालाई प्राथमिकता दिँदै आएका थिए ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार शाहले आज पहिलोपटक नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र त्यसपछि चिनियाँ राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भेटवार्ताको निश्चित समय भने सार्वजनिक गरिएको छैन ।
प्रधानमन्त्री शाहले यसअघि राजदूतहरूसँग सामूहिक रूपमा छलफल गर्दै आएका थिए । तर, पछिल्लो समय छिमेकी मुलुकसँग उच्चस्तरीय संवादलाई प्राथमिकता दिने क्रममा उनले व्यक्तिगत भेटवार्ता पनि अघि बढाउन लागेका हुन् ।
प्रधानमन्त्रीले भोलि नेपालका लागि अमेरिकी राजदूतसँग पनि भेटवार्ता गर्ने कार्यतालिका तय भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार यी भेटवार्ताको तयारी केही साताअघिदेखि नै भइरहेको थियो । तर, सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिका कारण भेटवार्ताको कार्यक्रम केही ढिला भएको हो ।
भारत, चीन र अमेरिकाका राजदूतसँग हुने लगातारका भेटवार्तालाई प्रधानमन्त्री शाहको कूटनीतिक सक्रियताको सुरुवातका रूपमा समेत हेरिएको छ । भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।