विराटनगर । कोशी प्रदेशमा सत्ता सहकार्यका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्न सकेको छैन। नेकपाले चार मन्त्रालय मागे पनि एमालेले तीन मन्त्रालय मात्रै दिन सकिने अडान राखेको छ।
कोशी प्रदेशमा हाल ९ वटा मन्त्रालय छन्। तीमध्ये नेकपाले चार मन्त्रालयमा दाबी गरेको हो। नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सत्ता सहकार्यका क्रममा आफ्नो पार्टीले चार मन्त्रालय माग गरेको जानकारी दिए।
‘हामीले चार वटा मन्त्रालय भनेका छौं,’ आङ्बोले भने। उनका अनुसार एमालेको धारणा आफूहरूले सञ्चारमाध्यमबाट सुने पनि दुई दलबीच औपचारिक रूपमा मन्त्रालय बाँडफाँटबारे छलफल अघि बढिसकेको छैन।
हाल कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्री छन्। सोही आधारमा नेकपाले पनि चार मन्त्रालय पाउनुपर्ने दाबी गरेको हो। नेकपाले आफ्नो दलको सम्मानजनक सहभागिताका लागि कांग्रेसले पाउँदै आएको हैसियतअनुसार मन्त्रालय दिनुपर्ने धारणा राख्दै आएको छ।
तर, नेकपा एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले भने नेकपालाई तीन मन्त्रालय मात्रै दिन सकिने बताएका छन्। उनले सत्ता साझेदारी ६–३ को अनुपातमा गर्ने प्रस्ताव अघि सारेका छन्।
मन्त्रालय बाँडफाँटसँगै दुई दलबीच सरकारको न्यूनतम साझा कार्यक्रम र बजेट पुनरावलोकनका विषयमा पनि छलफल हुने भएको छ। नेकपा संसदीय दलका नेता आङ्बोले सोमबार हुने छलफलमा आफ्नो पार्टीका तर्फबाट धारणा राख्ने बताएका छन्।
नेकपाले प्रदेशको नामकरण र बजेट पुनरावलोकनलाई समेत सत्ता सहकार्यका महत्वपूर्ण विषयका रूपमा अघि सारेको छ। मन्त्रालयको संख्या र जिम्मेवारी टुंगिएपछि सरकार पुनर्गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
यसरी मन्त्रालयको संख्यामा नेकपाको चार र एमालेको तीनको अडानका कारण कोशी प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद् विस्तार तत्काल टुंगिन नसकेको देखिएको छ।