काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गते हुने पार्टीको इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन्।
इतर समूहले आयोजना गर्न लागेको उक्त राष्ट्रिय भेलामा डा. कोइराला सहभागी हुने उहाँको सचिवालयले जनाएको छ। पार्टी विभाजन गर्ने उद्देश्यले भेला आयोजना नगरिएकाले कोइराला सहभागी हुन लागेको सचिवालयको भनाइ छ।
कोइरालाको सचिवालयका अनुसार भेलामा सहभागी हुँदै उहाँले पार्टीभित्र एकता कायम गर्न आह्वान गर्नुहुनेछ।
‘त्यो कुनै पार्टी विभाजन गर्ने भेला नभएकाले उक्त भेलामा सहभागी भएर डा. कोइरालाले पार्टी एकताकै लागि आह्वान गर्नुहुनेछ,’ कोइरालाको सचिवालयले जनाएको छ।
कांग्रेसभित्र पछिल्लो समय पार्टीको आन्तरिक गतिविधि, नेतृत्व तथा संगठन सञ्चालनलगायतका विषयमा विभिन्न समूहबीच मतभेद देखिँदै आएको छ। यही क्रममा इतर समूहले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो।
भेलामा पार्टीको वर्तमान अवस्था, आन्तरिक एकता तथा आगामी राजनीतिक दिशाबारे छलफल हुने बताइएको छ। डा. कोइरालाको सहभागितालाई पार्टीभित्रको एकता र समूहगत मतभेद व्यवस्थापनका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।