काठमाडौँ। लामो समयदेखि घाटामा रहेको दुग्ध विकास संस्थान (डिडिसी) पछिल्लो समय आम्दानी बढाउँदै दैनिक नाफातर्फ उन्मुख भएको छ। अनावश्यक खर्च कटौती, बिक्री वृद्धि, मौज्दात दुग्धजन्य पदार्थको उपयोग र व्यवस्थापन सुधारका कारण संस्थानको वित्तीय अवस्थामा सुधार आएको डिडिसीले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालमार्फत डिडिसीसम्बन्धी तथ्याङ्क सार्वजनिक गरेपछि संस्थानको पछिल्लो अवस्थाबारे चासो बढेको छ। यही विषयमा डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेसँग गरिएको कुराकानीका आधारमा संस्थानले अहिले दैनिक रूपमा कसरी आम्दानी बढाइरहेको छ भन्ने विवरण सार्वजनिक भएको हो।
महाप्रबन्धक पाण्डेका अनुसार डिडिसीले हाल ४४ जिल्लाका विभिन्न सङ्कलन केन्द्रबाट दैनिक करिब ६१ हजार लिटर दूध सङ्कलन गरिरहेको छ। तर दैनिक बिक्री भने करिब ८० हजार लिटर पुगेको छ। बिक्री हुने थप करिब १९ हजार लिटर दूध विगतमा मौज्दात रहेको दूध तथा दुग्धजन्य पदार्थको उपयोगबाट व्यवस्थापन भइरहेको छ।
पाण्डेका अनुसार गत वैशाख १८ गते नयाँ व्यवस्थापनले जिम्मेवारी सम्हाल्दा डिडिसीसँग ६ सय टन पाउडर दूध र ४ सय ५० टन बटर मौज्दात थियो। अहिले पाउडर दूधको मौज्दात १ सय ४० टन र बटर १ सय ३५ टनमा झरेको छ। मौज्दात रहेको दूध तथा बटरको उपयोग बढाउँदा बिक्रीसमेत बढेको उहाँको भनाइ छ।
डिडिसीले किसानबाट ४ प्रतिशत फ्याट भएको दूध प्रतिलिटर ६६ रुपैयाँमा खरिद गर्दै आएको छ। ढुवानी तथा सहकारी व्यवस्थापनलगायत खर्च जोड्दा यसको प्रारम्भिक लागत करिब ७० रुपैयाँ पुग्छ।
तर किसानबाट खरिद गरिएको दूधमा रहेको अतिरिक्त फ्याटलाई छुट्टै प्रशोधन गरी बटर तथा घिउ उत्पादनमा प्रयोग गरिने भएकाले दूधको वास्तविक लागत प्रतिलिटर करिब ७ रुपैयाँले कम हुने डिडिसीको भनाइ छ। यसरी दूध डिडिसीसम्म आइपुग्दा वास्तविक लागत करिब ६४ रुपैयाँ पर्ने जनाइएको छ।
प्रशोधन, प्याकेजिङ, चिस्यान, ढुवानी, कर्मचारी तथा मेसिन सञ्चालनलगायत खर्च जोड्दा ३ प्रतिशत फ्याट भएको दूधको उत्पादन लागत प्रतिलिटर अधिकतम १५ देखि १८ रुपैयाँ थपिन्छ। यसरी उक्त दूधको लागत प्रतिलिटर करिब ८२ रुपैयाँ पुग्छ।
डिडिसीले यस्तो दूध डिलरलाई प्रतिलिटर ९२ रुपैयाँमा बिक्री गर्छ। अर्थात् प्रतिलिटर करिब १० रुपैयाँ प्रारम्भिक नाफा हुन्छ। दैनिक ७३ हजार लिटर यस्तो दूध बिक्री हुँदा यसबाट मात्रै करिब ७ लाख ३० हजार रुपैयाँ दैनिक नाफा हुने संस्थानको हिसाब छ।
त्यस्तै, ५ प्रतिशत फ्याट भएको दूधको बिक्रीबाट पनि अतिरिक्त मार्जिन प्राप्त हुन्छ। यस्तो दूधको उत्पादन लागत प्रतिलिटर करिब ९७ रुपैयाँ पुग्ने र डिडिसीले डिलरलाई १२० रुपैयाँमा बिक्री गर्ने गरेको जनाएको छ। उपभोक्ताले भने प्रतिलिटर १३० रुपैयाँमा खरिद गर्छन्।
यसबाट दैनिक करिब १ लाख ६१ हजार रुपैयाँ नाफा हुने डिडिसीको भनाइ छ। यसरी दूध बिक्रीबाट मात्रै डिडिसीले दैनिक करिब ८ लाख ९१ हजार रुपैयाँ प्रारम्भिक नाफा आर्जन गरिरहेको छ।
यो दूध बिक्रीको प्रारम्भिक मार्जिन मात्र हो। बटर, घिउ, दही, आइसक्रिम, मोहीलगायत अन्य दुग्धजन्य पदार्थको बिक्रीबाट हुने आम्दानी यसमा समावेश छैन।
डिडिसीको कुल बिक्रीमा दूधको हिस्सा करिब ८५ प्रतिशत रहेको महाप्रबन्धक पाण्डेले बताउनुभयो। बाँकी १५ प्रतिशत हिस्सा बटर, पाउडर दूध, घिउ, दही, आइसक्रिम, मोहीलगायत अन्य दुग्धजन्य पदार्थको रहेको छ।
विगतमा अन्य उत्पादनको बिक्री न्यून हुँदा दूधमा अत्यधिक निर्भर रहेको संस्थानले पछिल्लो समय बटर, पाउडर दूध, घिउलगायत मौज्दातमा रहेका उत्पादनको बिक्री बढाएपछि आम्दानीमा सुधार आएको जनाएको छ।
हाल देशभर करिब ४५ वटा सङ्कलन केन्द्रबाट दूध सङ्कलन भइरहेको छ। बालाजु मातहत मात्रै करिब १८ वटा सङ्कलन केन्द्र सञ्चालनमा रहेका छन्।
डिडिसीले बिक्रीबाट प्राप्त आम्दानी परिचालन गरी किसानको बक्यौता भुक्तानीसँगै पुरानो ऋणसमेत घटाउँदै लगेको जनाएको छ।
नयाँ व्यवस्थापनले जिम्मेवारी सम्हाल्दा किसानको आठ महिनाको करिब ७२ करोड रुपैयाँ भुक्तानी बाँकी थियो। अहिले उक्त बक्यौता घटेर दुईदेखि तीन महिनामा सीमित भएको डिडिसीले जनाएको छ।
यस अवधिमा संस्थानले किसानलाई करिब ६० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ। उक्त रकममा सरकारबाट प्राप्त अनुदान समावेश नरहेको डिडिसीको दाबी छ। अब किसानको बक्यौता एक महिनामा सीमित गर्ने लक्ष्यसहित काम भइरहेको संस्थानले जनाएको छ।
अनावश्यक खर्च कटौती, कर्मचारीका केही सुविधामा कटौती, लागत व्यवस्थापन, बिक्री वृद्धि र व्यवस्थापन सुधारका कारण आम्दानी बढेको डिडिसीको भनाइ छ। यही अवधिमा संस्थानले आफ्नो आम्दानीबाट करिब ३ करोड रुपैयाँ ऋणसमेत तिरेको महाप्रबन्धक पाण्डेले बताउनुभयो।
त्यस्तै, निजी क्षेत्रसँगको समन्वयमा काठमाडौं उपत्यकामा आठ वटा ‘डेडिकेटेड सेल्स काउन्टर’ सञ्चालनमा ल्याइएको छ। बक्यौता असुलीलाई समेत प्राथमिकताका साथ अघि बढाइएको संस्थानले जनाएको छ।
डिडिसीका अनुसार असार मसान्तसम्म दैनिक करिब ६० देखि ६२ हजार लिटर दूध बिक्री हुँदै आएको थियो। तर साउनको पहिलो सातादेखि औसत दैनिक बिक्री बढेर ८० हजार लिटर पुगेको छ।
दूध बिक्री बढेसँगै दैनिक बिक्री आम्दानी करिब ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको डिडिसीले जनाएको छ।
बिक्रीबाट प्राप्त थप रकमको शतप्रतिशत हिस्सा किसानको बक्यौता भुक्तानीमा खर्च गरिएको संस्थानको दाबी छ। डिडिसीले आगामी दिनमा बिक्री अझ बढाउँदै किसानलाई नियमित र समयमै भुक्तानी गर्ने लक्ष्य राखेको जनाएको छ।