काठमाडौँ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा २०२ वटा सफल मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको छ।
केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले एक वर्षको अवधिमा २०२ वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार प्रत्यारोपण सेवामा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको समर्पण, सहकार्य र अथक मेहनतबाट यो उपलब्धि हासिल भएको हो।
डा. श्रेष्ठले उक्त उपलब्धि सम्पूर्ण प्रत्यारोपण टोली, अंगदाता तथा उहाँहरूका परिवार, बिरामी र प्रत्यारोपण सेवामा योगदान पुर्याउने सबैप्रति समर्पित रहेको बताउनुभयो।
उहाँका अनुसार प्रत्येक सफल मिर्गौला प्रत्यारोपणले बिरामीलाई नयाँ जीवन, आशा र भविष्य प्रदान गर्ने भएकाले यस उपलब्धिले प्रत्यारोपण सेवाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ।
उहाँले केन्द्रको यो उपलब्धिमा सहयोग गर्ने सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी, सहयोगी संस्था, शुभेच्छुक तथा केन्द्रप्रति विश्वास गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।
आगामी दिनमा पनि जीवन बचाउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै प्रत्यारोपण सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने डा. श्रेष्ठले बताउनुभयो।