कांग्रेस फुट्ने–नफुट्ने २९ गतेपछि स्पष्ट हुने लेखकको दाबी

1.2k Shares

काठमाडौँ । कांग्रेसभित्र देखिएको विवाद र विभाजनको अवस्था पूर्वसभापति शेरबहादुर देउवा नेपाल आएर आफ्नो धारणा राखेपछि मात्रै स्पष्ट हुने नेता रमेश लेखकले बताएका छन्।

पूर्वगृहमन्त्रीसमेत रहेका लेखकका अनुसार देउवाले साउन २९ गते सम्बोधन गरेपछि कांग्रेसले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा निष्कर्ष निकाल्नेछ।

संस्थापनइतर समूहले साउन २९ गते काठमाडौंमा शक्ति प्रदर्शनसहित राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलामा पूर्वसभापति देउवासहित कांग्रेसका विभिन्न नेताले समसामयिक राजनीतिक विषयमा धारणा राख्ने कार्यक्रम छ।

लेखकले देउवा नेपाल आएर आफ्नो धारणा राखेपछि मात्रै पार्टीको आगामी रणनीति तय हुने बताएका छन्। उनका अनुसार २९ गते देउवासहित अन्य नेताहरूको धारणा सार्वजनिक भएपछि अहिले देखिएका धेरै विषय स्पष्ट हुनेछन्।

फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले विशेष महाधिवेशनमार्फत गगन थापालाई सभापतिमा निर्वाचित गरेको थियो। तर, देउवा पक्षले थापाको नेतृत्वलाई स्वीकार नगरेपछि पार्टीभित्र विवाद चर्किएको छ।

यसैबीच, नेता शेखर कोइराला पछिल्लो समय देउवा पक्षसँग नजिकिएको चर्चा पनि कांग्रेस वृत्तमा चलिरहेको छ। कोइरालाले समेत साउन २९ गते काठमाडौंमा हुने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अब २९ गते हुने भेलामा देउवा, कोइरालालगायत नेताहरूले व्यक्त गर्ने धारणा र त्यसपछि हुने निर्णयले कांग्रेसभित्रको विवाद फुटतर्फ जाने हो वा सहमतिका आधारमा अघि बढ्ने हो भन्ने दिशानिर्देश गर्ने देखिएको छ।

 
सम्बन्धित समाचार