भदौ १ मा आचार्यको शक्ति परीक्षण, जुट्ला त बहुमत?

1.2k Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी १ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार तथा मन्त्रालय बाँडफाँटको विषय टुंग्याउने तयारी गरिएको छ। नयाँ राजनीतिक समीकरणअनुसार नेकपालाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भइरहेको छ। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजित थारूका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम पठाउने तयारी छ।

लुम्बिनी प्रदेश सभामा कुल ८३ सदस्य छन्। सरकारलाई बहुमत सिद्ध गर्न कम्तीमा ४२ सांसदको समर्थन आवश्यक पर्छ। हाल नेकपा एमालेसँग २९ र नेकपासँग सभामुखसहित १३ सांसद छन्। सभामुखले मतदानमा भाग लिन नपाउने भएकाले मुख्यमन्त्री आचार्यलाई बहुमत जुटाउन अन्य दल वा सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने वा नपाउने विषयले लुम्बिनी प्रदेश सरकारको आगामी राजनीतिक समीकरणसमेत निर्धारण गर्ने भएकाले १ भदौको प्रदेशसभा बैठकलाई चासोका साथ हेरिएको छ।

सम्बन्धित समाचार