रास्वपाका १८२ सांसद, संसदमा भने ६१ जना मात्रै उपस्थित

1.2k Shares

काठमाडौं । प्रतिनिधिसभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८२ जना सांसद रहे पनि बुधबार आफ्नै सरकारले ल्याएको विधेयकमाथि छलफल अघि बढाउने क्रममा गणपूरक संख्या (कोरम) नपुगेपछि बैठक प्रभावित भएको छ ।

सभामुख डोलप्रसाद अर्याल (डीपी)ले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्या यकिन गर्न माग गर्नुभएको थियो ।

त्यसपछि सभामुखले तीन मिनेटसम्म घण्टी बजाएर सभाकक्ष बाहिर रहेका सांसदलाई बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको थियो । घण्टी बजेपछि सांसदको उपस्थिति गणना गर्दा सभाकक्षमा जम्मा ६१ जना सांसद मात्रै उपस्थित रहेको पाइएको थियो ।

उपस्थित ६१ सांसदमध्ये विपक्षी दलका पाँच जना सांसद थिए भने सत्तापक्ष रास्वपाका ५६ जना सांसद मात्रै बैठकमा उपस्थित थिए ।

संविधानको धारा ९४ अनुसार प्रतिनिधिसभामा कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न बैठकमा तत्काल कायम रहेका सदस्यको कम्तीमा एक चौथाइ अर्थात् ६९ जना सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ ।

तर आवश्यक ६९ जनाको सट्टा ६१ जना मात्रै उपस्थित भएपछि विधेयकमाथिको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन । गणपूरक संख्या नपुगेपछि सभामुखले बैठक स्थगित गर्नुभएको हो ।

प्रतिनिधिसभामा रास्वपाका १८२ जना सांसद रहेको अवस्थामा समेत सत्तापक्षका ५६ जना मात्रै उपस्थित भएपछि आफ्नै सरकारले अघि बढाएको विधेयकसम्बन्धी प्रस्ताव अघि बढ्न नसकेको हो । घटनाले संसद् बैठकमा सत्तारुढ सांसदहरूको उपस्थितिको विषयमा प्रश्नसमेत उठाएको छ ।samsad-hajiri.jpg

सम्बन्धित समाचार