किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न राष्ट्रिय युवा संघ नेपालको माग
1.4k
Shares
काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई तत्काल ससम्मान रिहा गर्न माग गरेको छ। संघका अध्यक्ष महाराज गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरिएको छ।
विज्ञप्तिमा लोकतान्त्रिक शासन प्रणालीमा प्रेस स्वतन्त्रता राज्यको प्रमुख कर्तव्य भएको उल्लेख गर्दै संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताइएको छ। पत्रकारलाई समाचार सम्प्रेषणकै कारण पक्राउ गर्नु प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको उल्लङ्घन भएको संघको ठहर छ।
राष्ट्रिय युवा संघ नेपालले पत्रकार किशोर श्रेष्ठको पक्राउलाई गम्भीर र आपत्तिजनक घटनाका रूपमा लिएको जनाएको छ। संघले श्रेष्ठलाई तत्काल ससम्मान रिहा गर्न तथा पत्रकारलाई समाचार सम्प्रेषणका कारण पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रमा सरकारको मूल्याङ्कन र निगरानी गर्ने पत्रकारको अभिव्यक्ति दमन गर्ने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।” साथै प्रेस तथा पत्रकारिताको स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न र राज्य संयन्त्रको दुरुपयोग नगर्न सरकारलाई चेतावनी दिइएको छ।
संघले प्रेस तथा सञ्चारमाध्यमलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। सरकारका गतिविधिमाथि निरन्तर खबरदारी गर्ने लोकतान्त्रिक प्रणालीको महत्वपूर्ण पक्षका रूपमा पत्रकारितालाई कमजोर बनाउने, नियन्त्रण गर्ने वा सेन्सरसिप लगाउने कुनै पनि प्रयासको विरोध गर्ने जनाएको छ।
राष्ट्रिय युवा संघ नेपालले लोकतन्त्रमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकारको संरक्षण तथा विधिको शासनको पालना राज्यको अनिवार्य दायित्व भएको स्मरण गराउँदै त्यसको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ।
संघले प्रेस स्वतन्त्रताको रक्षा, नागरिक अधिकारको संरक्षण र विधिको शासनका पक्षमा राष्ट्रिय युवा संघ नेपाल प्रतिबद्ध रहेको पनि विज्ञप्तिमार्फत स्पष्ट पारेको छ। अध्यक्ष महाराज गुरुङद्वारा जारी विज्ञप्तिमा पत्रकारमाथिको गैरकानुनी धरपकड तथा प्रेसमाथिको हस्तक्षेप तत्काल बन्द गर्न माग गरिएको छ।