काठमाडौँ । मनसुन सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेई) का बिरामी बढ्न थालेका छन्। परिवार कल्याण महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म देशका २१ जिल्लाका ४३ स्थानीय तहमा ५४ जनामा जेई संक्रमण पुष्टि भएको छ भने १३ जना संक्रमितको मृत्यु भएको छ।
परिवार कल्याण महाशाखाअन्तर्गत खोप तथा बालरोग शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार संक्रमण पुष्टि भएका बिरामीमध्ये ८९ प्रतिशतले जेईविरुद्धको खोप नलगाएको पाइएको छ। बाँकी ११ प्रतिशतले खोप लगाए–नलगाएको अवस्था यकिन हुन सकेको छैन। संक्रमण विशेषगरी तराईका जिल्लामा बढी देखिएको छ।
डा. गौतमका अनुसार जेई संक्रमित तीन जनामध्ये एक जनाको मृत्यु हुन सक्ने तथा एक जनामा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने जोखिम हुन्छ। ५० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकमा मृत्युदर बढी देखिने भएकाले उनीहरूलाई विशेष सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य मस्तिष्क संक्रमण हो। गम्भीर अवस्थामा यसले मस्तिष्क सुन्निने, पक्षघात हुने, बेहोस हुने तथा कोमामा पुग्नेसम्मको अवस्था निम्त्याउन सक्छ।
“यदि यो रोग गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षघात हुने, बेहोस हुने र कोमामा जानेजस्ता लक्षण देखिन सक्छन्,” डा. पुनले भन्नुभयो। उहाँका अनुसार संक्रमितमध्ये करिब १५ देखि ३० प्रतिशतको मृत्यु हुन सक्छ।
जेई संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। धानबाली, दलदल तथा पानी जम्ने स्थान लामखुट्टेको प्रजननस्थल बन्ने भएकाले ग्रामीण तथा कृषि क्षेत्रमा बसोबास गर्ने मानिस बढी जोखिममा हुन्छन्।
यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रत्यक्ष सर्दैन। क्युलेक्स प्रजातिको लामखुट्टेले संक्रमित सुँगुर, बङ्गुर वा जङ्गली चरालाई टोकेपछि मानिसलाई टोक्दा भाइरस मानिसमा सर्ने गर्छ। यस्ता लामखुट्टे साँझपख र झिसमिसे बिहान बढी सक्रिय हुने गर्छन्।
जेई संक्रमण हुँदा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने वा बान्ता हुने तथा कमजोरी महसुस हुनेजस्ता लक्षण देखिन सक्छन्।
उच्च ज्वरो, टाउको दुख्ने, शरीरमा कम्पन हुने, अर्धचेत वा बेहोस हुने, शारीरिक कमजोरी वा पक्षघात हुने तथा कोमामा पुग्ने अवस्था गम्भीर लक्षण हुन्।
ज्वरोसँगै टाउको दुख्ने, बेहोस हुने, झट्का आउने, मानसिक अवस्थामा परिवर्तन हुने, हिँड्न वा बोल्न कठिन हुनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्था पुग्न चिकित्सकहरूले सुझाव दिएका छन्।
१५ वर्षमुनिका बालबालिका, धानबाली, सुँगुर तथा हाँस फार्म आसपास बसोबास गर्ने व्यक्ति जेईको बढी जोखिममा हुन्छन्। त्यस्तै, संक्रमण फैलिएको क्षेत्रमा यात्रा गर्ने वा बसाइँ सर्ने मानिस पनि जोखिममा पर्न सक्छन्।
गम्भीर संक्रमणका कारण मस्तिष्कमा स्थायी क्षति, पक्षघात तथा मृत्यु हुन सक्ने भएकाले लक्षण देखिएपछि उपचारमा ढिलाइ नगर्न चिकित्सकको सुझाव छ।
जेईबाट बच्ने प्रमुख उपाय खोप हो। नेपाल सरकारले जापानिज इन्सेफलाइटिसविरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी १२ महिनाका बालबालिकालाई निःशुल्क उपलब्ध गराउँदै आएको छ।
लामखुट्टेको टोकाइबाट बच्न सुत्दा झुल प्रयोग गर्ने, घरबाहिर निस्कँदा लामो बाहुला भएको कपडा लगाउने तथा लामखुट्टे भगाउने मलम प्रयोग गर्न सकिन्छ। घरभित्र आवश्यकताअनुसार लामखुट्टे भगाउने धूप वा स्प्रे प्रयोग गर्न पनि चिकित्सकहरूले सुझाव दिएका छन्।
त्यसैगरी घर तथा वरपर पानी जम्न नदिने, झाडी तथा फोहोर हटाउने र पानी भण्डारण गर्ने भाँडा छोपेर राख्ने जस्ता उपाय अपनाउन आवश्यक छ।