काठमाडौँ । करिब साढे पाँच महिनापछि स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र समानान्तर गतिविधि अघि बढाएपछि कांग्रेसको आन्तरिक विवाद फेरि चर्किएको छ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि फागुन १४ गते विदेश गएका देउवा स्वदेश फर्केलगत्तै पार्टी एकता र लोकतन्त्र सुदृढ गर्ने सन्देशसहित सार्वजनिक भएका थिए। उनले आफू शक्ति प्रदर्शन गर्न नभई सामान्य नागरिकका रूपमा नेपाल फर्किएको बताएका थिए।
तर, चुनदेवीस्थित नयाँ पार्टी कार्यालयमा सभापतिको हैसियतमा देउवाको स्वागत गरिएपछि कांग्रेसमा समानान्तर नेतृत्वको अभ्यास सुरु भएको संकेत देखिएको छ।
चुनदेवीमा देउवालाई स्वागत गर्न पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, मीन विश्वकर्मा, प्रकाशशरण महत, कान्छाराम तामाङ, विमलेन्द्र निधि, एनपी साउद र कृष्ण सिटौलालगायतका नेता पुगेका थिए।
नेता कृष्ण सिटौलाले १५औँ महाधिवेशन नहुँदासम्म आफूहरूको सभापति शेरबहादुर देउवा नै रहेको दाबी गर्नुभयो।
“१५औँ महाधिवेशन नहुन्जेलसम्म हाम्रो सभापति शेरबहादुर देउवा दाइ नै हो। अदालतमा हाम्रो मुद्दा पुनरावलोकन हुँदैछ। अरू कुरा विस्तारै हुँदै जान्छ,” उहाँले भन्नुभयो।
गगन थापालाई सभापति स्वीकार नगर्ने विषयमा समेत सिटौलाले असन्तुष्टि व्यक्त गर्नुभयो। पार्टीको नेतृत्वले शीर्ष नेताको सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो।
नेता प्रकाशशरण महतले पनि अहिले अदालतमा रहेको विवादको फैसला पर्खिनुपर्ने बताउनुभयो।
“अहिलेलाई हाम्रो सभापति नेपाल आउनुभयो, त्यो नै खुसीको कुरा हो। बाँकी कुरा भोलिको सम्बोधनपछि अगाडि बढ्ला। अदालतको मुद्दा पनि छ, त्यसलाई पनि कुरौँ,” उहाँले भन्नुभयो।
राष्ट्रिय भेलामा सहभागी नभएका नेताहरू पनि विस्तारै जोडिने दाबी गर्दै महतले पार्टी विभाजनको सम्भावनाबारे भने अदालतको फैसला पर्खन आग्रह गर्नुभयो।
राजनीतिक विश्लेषक सञ्जीव हुमागाईंले कांग्रेसको आधिकारिक सभापति गगन थापा नै रहेको बताउनुभएको छ।
कांग्रेसले २०८२ पुसको अन्तिम साता विशेष महाधिवेशन गरी गगन थापालाई सभापति चयन गरेको थियो। देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको सहभागितामा थापा सभापति बनेको दाबी गरिएको छ।
विश्लेषकहरूका अनुसार अदालत र निर्वाचन आयोगबाट समेत थापाको नेतृत्वले आधिकारिकता पाएपछि देउवा पक्षले समानान्तर गतिविधि अघि बढाउनु कांग्रेसका लागि गम्भीर आन्तरिक संकट हो।
राजनीतिक विश्लेषक इन्द्र अधिकारीले विधि र प्रक्रियाबाट बनेको नेतृत्व स्वीकार गरी १५औँ महाधिवेशनतर्फ अघि बढ्नुको विकल्प कांग्रेससँग नरहेको बताउनुभयो। “पुनरावलोकनका लागि अदालतमा मुद्दा पुगेको बेला दुई पक्षले नै समानान्तर गतिविधि गर्नुलाई सामान्य कलह मान्न सकिन्न,” उहाँको भनाइ छ।
गगन थापा पक्षका नेता तथा पार्टी महामन्त्री गुरु घिमिरेले देउवा पक्षले राष्ट्रिय भेला गर्न पाउने भए पनि त्यस्तो भेलाले पार्टीको आधिकारिक संरचनामा असर पार्न नहुने बताउनुभयो।
उहाँले कांग्रेसभित्र विभिन्न विचार र समूह रहे पनि त्यसका कारण मूल पार्टीलाई असर पर्न नहुने धारणा राख्नुभयो। “उहाँले भेला गर्न पाउनुहुन्छ। भेलाबाट कांग्रेस १५औँ महाधिवेशनको गतिविधिमा अगाडि बढ्ने र एकताबद्ध हुने विषयमा उहाँले चर्चा गर्न पाउनुभयो। तर पार्टीलाई घाटा लाग्ने कुनै पनि गतिविधि हामी स्वीकार्दैनौँ,” घिमिरेले भन्नुभयो।
देउवाले चुनदेवी कार्यालयमा सभापतिको नेमप्लेट राखेको विषयमा उहाँले प्रश्न गर्दै भन्नुभयो, “नेमप्लेट टाँस्दैमा सभापति हुन्छ र?”
स्वदेश फर्किएपछि देउवा सरकारप्रति पनि आक्रामक रूपमा प्रस्तुत हुनुभएको छ। समर्थक तथा पार्टीका नेताहरूको उपस्थितिमा चुनदेवीस्थित कार्यालयको बार्दलीबाट सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गर्नुभयो।
आफूमाथि सरकारले सम्पत्ति शुद्धीकरणलगायतका विषयमा अनुसन्धान गरिरहेको चर्चा भइरहेका बेला देउवाले आफूलाई विगतमा पनि कसैले केही गर्न नसकेको दाबी गर्नुभयो।
“यिनीहरूले एकदम बदमासी काम गरेका छन्, तर मलाई बदलाको भावना लिनु छैन। यो देशमा जनता छ, अदालत छ। सबैले जानेको, बुझेको छ। यिनीहरूलाई भोलि हामी देखाएर छाड्छौँ,” देउवाले भन्नुभयो।
उहाँले सत्यको अन्ततः जित हुने दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्रको शासनकालको प्रसंगसमेत उठाउनुभयो। “राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ? नेपाली जनता सबैभन्दा ठूलो मालिक हो। मालिकले जे भन्यो त्यही हुन्छ,” देउवाले भन्नुभयो। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको प्रसंगमा पनि देउवाले आफूविरुद्ध विगतमा अनुसन्धान भए पनि केही नदेखिएको दाबी गर्नुभयो।
स्वदेश फर्केलगत्तै देउवाले आफू सामान्य नागरिक भएर नेपाल बस्न र लोकतन्त्र सुदृढ बनाउन आएको बताउनुभएको थियो। तर, चुनदेवीमा छुट्टै कार्यालयमा सभापतिको हैसियतमा सक्रिय भएपछि कांग्रेसभित्रको नेतृत्व विवाद झनै सतहमा आएको छ। अदालतको फैसला र १५औँ महाधिवेशनतर्फ जाने प्रक्रियाले कांग्रेसको यो विवाद कुन दिशामा अघि बढ्छ भन्ने टुंगो लगाउने देखिन्छ।