समितिमा सवाल–जवाफ, सञ्जालमा आरोप–प्रत्यारोप

1.1k Shares

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसद्को सार्वजनिक लेखा समितिमा दिएको जवाफप्रति सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्।

सार्वजनिक लेखा समितिको अघिल्लो बैठकमा सांसद सुनार र आईजीपी कार्कीबीच निर्वाचन प्रहरी (म्यादी प्रहरी) को पोशाक खरिदमा भएको भनिएको अनियमितताबारे सवाल–जवाफ भएको थियो। सो क्रममा सुनारले पोशाक खरिदमा भ्रष्टाचार भएको आरोप लगाउँदै आईजीपी कार्कीमाथि समेत छानबिन हुनुपर्ने माग गरेका थिए।

सुनारको उक्त मागपछि समितिमा जवाफ दिँदै आईजीपी कार्कीले आफू निष्ठापूर्वक काम गरिरहेको अवस्थामा समितिमा बोलाएर चरित्रहत्या गरिएको बताएका थिए। उनले सुनारतर्फ लक्षित गर्दै, ‘परिआए नेमिङ, सेमिङ, ब्लेमिङ र गेमिङ गर्न हामीलाई पनि आउँछ’ भनेका थिए।

आईजीपी कार्कीको उक्त भनाइप्रति प्रतिक्रिया दिँदै सांसद सुनारले आफूले उठाएको विषय बर्दी र फुली देखाएर धम्क्याउँदैमा समाप्त नहुने बताएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनै पर्छ। त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन किन नपरोस्।’

उनले म्यादी प्रहरीको पोशाक खरिदसम्बन्धी विषयमा आफूले उठाएको प्रश्नबाट पछि नहट्ने संकेत गर्दै भनेका छन्, ‘हिजोको मुद्दा बर्दी र फुली देखाएर धम्काउँदैमा सकिने विषय हैन।’

सुनारले आफ्नो प्रतिक्रियाको अन्त्यमा थप कडा टिप्पणी गर्दै लेखेका छन्, ‘मुद्दा लागेको व्यक्तिले बयान दिने हो। प्रवचन दिने हैन। जुत्ता लगाउने हो। खाने हैन।’

सार्वजनिक लेखा समितिमा भएको सवाल–जवाफपछि सांसद सुनार र आईजीपी कार्कीबीचको भनाभन सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ।

सम्बन्धित समाचार