काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरवलोकनको निस्सा दिएसँगै पार्टी विभाजनको सम्भावना समाप्त भएको बताएका छन्।
सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शर्माले सर्वोच्च अदालतबाट पुनरवलोकनको निस्सा प्रदान भएसँगै अलग्गै दल बन्ने सम्भावना टरेको बताएका हुन्।
उनका अनुसार अर्को पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलापछि पनि पार्टी एकताका लागि संवाद अघि बढाइनेछ। कांग्रेस एकताका लागि आफूहरू सबै विषयमा खुला रहेको उनले बताए।
शर्माले राष्ट्रिय भेला आयोजकमध्येका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासमेत पार्टी एकताको पक्षमा रहेको दाबी गरे।
‘अदालतले निस्सा दिइसकेपछि अलग्गै दल बन्ने सम्भावना सकिएको छ। त्यो भेलापछि पनि हामी संवाद गर्नेछौँ। सबै कुराका लागि खुला छौँ,’ शर्माले भने।
उनले तत्कालीन कार्यवाहक सभापति खड्का र नेता कोइरालाको मत पनि पार्टी एकताकै पक्षमा रहेको बताए। राष्ट्रिय भेलाले पनि उनीहरूको एकताको धारणा आत्मसात् गर्ने विश्वास शर्माले व्यक्त गरे।
कांग्रेसभित्र आधिकारिकता विवादसँगै पार्टी विभाजनको चर्चा चलिरहेका बेला सर्वोच्च अदालतले पुनरवलोकनको निस्सा दिएपछि त्यसले पार्टीभित्रको विवाद समाधानका लागि संवादको बाटो खुलेको शर्माको भनाइ छ।