दल दर्ताअघि नै राणा–प्रसाईंबीच दूरी, छुट्टाछुट्टै पार्टी बनाउने तयारी

1.1k Shares

काठमाडौं । डा. धवलशमशेर राणा र अभियन्ता दुर्गा प्रसाईं पक्षबीच सहमति जुट्न नसकेपछि निर्वाचन आयोगमा दल दर्ता नहुँदै प्रस्तावित नयाँ पार्टी गठनको सहमति भंग भएको छ।

राणा र प्रसाईं पक्षले यसअघि ‘जय नेपाल पार्टी’ गठन गर्ने सहमति गरेका थिए। सहमतिअनुसार राणा सभापति र प्रसाईं सर्वोच्च नेता रहने तय भएको थियो। तर, पार्टीको अधिकार र आगामी निर्वाचनमा उम्मेदवार छनोट तथा हस्ताक्षरको विषयमा दुई पक्षबीच मतभेद बढेपछि सहमति टुटेको हो।

राणा पक्ष आजै निर्वाचन आयोगमा दल दर्ताका लागि जाने तयारीमा छ भने प्रसाईं पक्षले छुट्टै कार्यक्रममार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। प्रसाईंनिकट माधव कल्पितका अनुसार कलंकीस्थित शिखर पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको छ।

कल्पितले भदौ ५ गते पार्टी दर्ताका लागि राम्रो साइत रहेकाले त्यतिबेलासम्म पर्खन आग्रह गरे पनि राणा पक्ष त्यसका लागि तयार नभएको बताए।

‘हाम्रो ध्यान गरिब निमुखा जनता बचाऔँ भन्ने हो। लघुवित्त र बैंकपीडितहरू खाली खुट्टा काठमाडौं आइरहेका छन्। उनीहरूलाई पर्खौं न भनेको मान्नुभएन,’ कल्पितले भने।

उनका अनुसार दुई पक्षबीच सहमति कायम हुन नसकेपछि प्रसाईंले छुट्टै पार्टी गठन गर्ने तयारी गरेका छन्।

प्रसाईंले पनि सामाजिक सञ्जालमार्फत नयाँ पार्टी गठन गर्ने जानकारी दिँदै गरिब, सर्वहारा, भुइँमान्छे, उत्पीडित, भूमिहीन सुकुमवासी तथा लघुवित्त, सहकारी, बैंक र मिटरब्याजपीडित नागरिकको पक्षमा आफूहरूको पार्टी केन्द्रित हुने बताएका छन्।

उनले नयाँ पार्टी सबै नेपाली नागरिक, जातजाति र धर्मको साझा पार्टी बन्ने दाबी गरेका छन्। वैदिक सनातनी हिन्दु अधिराज्यसहितको पार्टी देशका पीडित, शोषित, उत्पीडित तथा आम नागरिकको हक, अधिकार र न्यायका लागि समर्पित हुने उनको भनाइ छ।

नयाँ पार्टीको विधान निर्माणका लागि संयोजक तोकिएका कल्पितले यसअघि नै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी भइरहेको बताएका थिए।

यता, राणा पक्षका एक नेताका अनुसार उम्मेदवार छनोटका क्रममा हस्ताक्षरको अधिकार कसलाई रहने भन्ने विषयमा विवाद भएपछि सहमति जुट्न नसकेको हो।

‘निर्वाचनको बेला उम्मेदवारमा हस्ताक्षर गर्न पाउनुपर्ने माग उहाँले राख्नुभयो। सभापतिको अधिकार सबै लिन खोजेपछि सहमति जुट्न सकेन,’ ती नेताले भने।

यससँगै निर्वाचन आयोगमा संयुक्त रूपमा दल दर्ता गर्ने तयारी गरेका राणा र प्रसाईं पक्ष अब छुट्टाछुट्टै राजनीतिक दल गठन गर्ने दिशामा अघि बढेका छन्।

सम्बन्धित समाचार