काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बदलिँदो समय र परिवर्तनलाई आत्मसात् गर्दै युवाहरू अगाडि बढ्नुपर्ने बताएका छन्।
महर्षि कलेज, सामाखुसीले शनिबार आयोजना गरेको स्वागत, अभिमुखीकरण तथा सांस्कृतिक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र क्षमताले समृद्ध मुलुक निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उनले सूचना प्रविधिले विश्वलाई थप नजिक ल्याइरहेको उल्लेख गर्दै युवाहरूले प्रविधिको उच्चतम प्रयोग गरेर देश विकासमा योगदान दिनुपर्नेमा जोड दिए। उनका अनुसार बदलिँदो प्रविधि र विश्व परिवेशसँग आफूलाई अनुकूल बनाउँदै अघि बढ्नु आजको आवश्यकता हो।
मन्त्री श्रेष्ठले विद्यार्थी जीवनमा शिक्षासँगै मानसिक स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए। ज्ञान र सीप हासिल गर्नुका साथै स्वस्थ मानसिकता विकास गर्न सके युवाहरूले आफ्नो क्षमता अझ प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने उनको भनाइ थियो।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, काठमाडौँका प्रमुख सुरेश जोशीले छोटो समयमै महर्षि कलेजले नेपालको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे। शिक्षा व्यक्तिभित्र रहेको प्रतिभालाई पहिचान गरी उजागर गर्ने माध्यम भएको उनले बताए।
कलेज सञ्चालक समितिका अध्यक्ष तथा पूर्वसांसद प्रकाशचन्द्र दवाडीले २० वर्षको इतिहास बोकेको महर्षि कलेजले नेपालको शिक्षा क्षेत्रको विकासमा निरन्तर काम गर्दै आएको बताए।
कार्यक्रममा राष्ट्रिय कलाकार राजु परियार र बेलिमाया पुलामीमगरलगायतले सांस्कृतिक प्रस्तुति दिएका थिए। साथै, नयाँ विद्यार्थीलाई कलेज तथा शैक्षिक गतिविधिबारे अभिमुखीकरणसमेत प्रदान गरिएको थियो।