जाजरकोटमा पहिरोले घर भत्काउँदा १० जना घाइते, तीन जना बेपत्ता

1.1k Shares

काठमाडौं । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा गएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भएका छन्।

शनिबार दिउँसो करिब ४ बजेदेखि परेको लगातारको वर्षाका कारण रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोका कारण घर भत्किएको तथा बस्ती जोखिममा परेको जानकारी पाएपछि उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका करिब ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

पहिरोले भेरी नगरपालिका–३, स्यालाका पूर्णबहादुर विकको ढुंगा–माटोले बनेको दुईतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरमा रहेका पाँच जना परिवारका सदस्य भने आफन्तको घरमा सुरक्षित बसेका छन्। त्यस्तै, सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन्।

पहिरोमा परी भेरी–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही घाइते भएका छन्। आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो। जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ। उनको जिल्ला अस्पतालमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यस्तै, भेरी–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की, भेरी–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरालगायत अन्य व्यक्तिहरू पनि घाइते भएका छन्। घाइतेमध्ये केहीको जिल्ला अस्पतालमा तथा केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। केही घाइतेलाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज रिफर गरिएको छ।

तीन जना सम्पर्कविहीन

पहिरोबाट जोगिन भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, सोही वडाको चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी–२ कै करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्।

उनीहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ। पहिरोबाट भएको क्षति तथा घटनास्थलको अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार