काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूको उपस्थिति घट्दै गएपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको हाजिरी विश्लेषण गर्न थालेको छ। बैठक सुरु हुँदा हाजिर गर्ने तर बीचमै बाहिरिने प्रवृत्ति बढेको भन्दै रास्वपा मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले सचेतकहरूलाई हाजिरी विवरण अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।
मुख्य सचेतक बुर्लाकोटीको निर्देशनपछि संसद् सचिवालयबाट सांसदहरूको दैनिक हाजिरी विवरण झिकाएर अध्ययन भइरहेको रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए। उनका अनुसार असार ३० र ३१ तथा साउन १४, १८ र २२ गतेको हाजिरी विशेष रूपमा विश्लेषण गर्न भनिएको छ।
बुर्लाकोटीले बैठकमा सांसदहरूको अपेक्षित उपस्थिति नदेखिनु र उपस्थित भएका सांसदसमेत बीचमै बाहिरिनु गम्भीर विषय भएको बताएका छन्। यस्तो प्रवृत्तिले संसद्को कामकारबाही र गरिमामाथि असर पर्ने उनको भनाइ छ।
सांसदहरूको न्यून उपस्थितिको असर पछिल्लो समय संसद्को कामकारबाहीमै देखिन थालेको छ। साउन २६ गते बसेको प्रतिनिधिसभा बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुन सकेन।
संविधानको धारा ९४ अनुसार प्रतिनिधिसभामा कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न कुल सदस्य सङ्ख्याको कम्तीमा एकचौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ। सो बैठकमा आवश्यक ६९ जनाको सट्टा ६१ सांसद मात्र उपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव अर्को बैठकमा पेस गर्ने जानकारी दिएका थिए।


संसद्मा सत्तापक्षकै सांसदहरूको उपस्थिति कमजोर देखिएपछि रास्वपाभित्रै यस विषयमा गम्भीर समीक्षा सुरु भएको हो। सचेतक परियारका अनुसार मुख्य सचेतकको निर्देशनअनुसार प्रत्येक दिनको हाजिरी अध्ययन भइरहेको छ।
‘मुख्य सचेतकको निर्देशनबमोजिम हामीले प्रत्येक दिनको हाजिरी विश्लेषण गरिरहेका छौँ,’ परियारले भने, ‘आज दिउँसोसम्म प्रगतिबारे जानकारी दिन सकिन्छ।’
मुख्य सचेतक बुर्लाकोटीले हाजिरी विश्लेषणपछि आवश्यक कदम चालिने बताएका छन्। उनका अनुसार प्रतिवेदनका आधारमा जिम्मेवार सांसदलाई कारबाहीको दायरामा ल्याउने विषयमा समेत छलफल हुनेछ।
‘संसद्मा न्यून उपस्थित हुने र उपस्थित भएर पनि बीचमै बैठक छाडेर जाने क्रम बढ्नु गम्भीर विषय हो,’ बुर्लाकोटीले भने, ‘यसले संसद्को गरिमा कमजोर बनाउँदै लैजान्छ। प्रतिवेदन आएपछि आवश्यक कारबाही अगाडि बढाउँछौँ।’
रास्वपाले आफ्नै सांसदको उपस्थिति सुधार्न थालेको यो पहलले आगामी दिनमा संसद्को गणपूरक सङ्ख्या र विधेयक पारित गर्ने प्रक्रियामा दलभित्र कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।