धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सम्भावित विपद्का घटना न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि प्रदेशका सबै संयन्त्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।
आइतबार आन्तरिक मामिला मन्त्रालयका सचिव तेजप्रकाश जोशीसँग प्रदेशको समग्र विपद् जोखिमको अवस्था, सम्भावित जोखिमयुक्त क्षेत्र, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापन र विपद् प्रतिकार्यका लागि प्रदेश सरकारको तयारीबारे मुख्यमन्त्री भट्टले विस्तृत जानकारी लिएका थिए।
विपद् जुनसुकै बेला आउन सक्ने भएकाले पूर्वतयारीलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले सम्बन्धित सबै निकायलाई आवश्यक स्रोत–साधनसहित तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।
ब्रिफिङका क्रममा प्रदेशमा विपद्का सम्भावित घटनाबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि अपनाइएका उपाय, उपलब्ध स्रोत–साधन तथा विपद् प्रतिकार्यका लागि प्रदेशमा रहेका संयन्त्रको अवस्थाबारे मुख्यमन्त्री भट्टलाई जानकारी गराइएको थियो।
मुख्यमन्त्री भट्टले विपद् प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक जनशक्ति, उद्धार सामग्री, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक स्रोत–साधनको व्यवस्थापन चुस्त राख्न निर्देशन दिए।
उनले सम्बन्धित सबै निकायबीच सूचना आदानप्रदान र कार्यगत समन्वयलाई प्रभावकारी बनाउनसमेत आग्रह गरे। सम्भावित जोखिमयुक्त क्षेत्रको निरन्तर अनुगमन तथा सूचना सङ्कलन गर्दै पूर्वसूचना प्राप्त हुनेबित्तिकै सम्बन्धित निकाय परिचालन हुने व्यवस्था मिलाउन उनले निर्देशन दिएका थिए।
प्रदेश सरकार, जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन संयन्त्र र सुरक्षा निकायबीच स्पष्ट भूमिका र जिम्मेवारीसहितको समन्वय आवश्यक रहेको मुख्यमन्त्री भट्टले बताए।
विपद्का समयमा कुनै पनि निकायबीच समन्वयको अभाव हुन नदिन सम्बन्धित मन्त्रालय तथा निकायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन्।