विद्युत् बक्यौता असुलीको माग गर्दै उज्यालो नेपाल पार्टीको हस्ताक्षर अभियान

1.1k Shares

काठमाडौं, भदौ १ । पूर्वमन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले विद्युत्सँग सम्बन्धित विभिन्न मुद्दा उठाउँदै आजदेखि देशव्यापी हस्ताक्षर अभियान सुरु गर्ने भएको छ। पार्टीले सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको जनाएको छ।

अभियानको पहिलो चरण सोमबार काठमाडौंको माइतीघर मण्डलाबाट सुरु हुने पार्टीले जनाएको छ। अभियानमार्फत डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गर्न, विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न तथा स्वदेशी विद्युत्को आन्तरिक खपत बढाउन सरकारलाई दबाब दिने पार्टीको योजना छ।

पार्टीका अनुसार विद्युत् केवल राज्यको राजस्व संकलनको माध्यम मात्र नभई उत्पादन, रोजगारी र आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो। त्यसैले विद्युत् उपभोगमा रहेको अनावश्यक करभार हटाएर विद्युत्लाई सस्तो, सहज र प्रतिस्पर्धी बनाउनुपर्ने उसको धारणा छ।

उज्यालो नेपाल पार्टीले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् सेवा लिएका उद्योगी तथा व्यवसायीबाट उठाउनुपर्ने बक्यौता रकम तत्काल असुल गर्न पनि सरकारसँग माग गरेको छ। पार्टीले बक्यौता महसुल निर्धारण तथा असुलीका विषयमा मन्त्रिपरिषद्, विद्युत् नियमन आयोग, सार्वजनिक लेखा समिति तथा कानुनी र न्यायिक प्रक्रियाबाट आवश्यक आधार स्पष्ट भइसकेको दाबी गरेको छ।

त्यसैगरी, पार्टीले नेपालमा उत्पादन भइरहेको विद्युत्को आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिएको छ। इन्डक्सन चुलो, विद्युतीय सवारीसाधन तथा अन्य विद्युतीय उपकरणको प्रयोग विस्तार गर्नुका साथै कृषि, उद्योग र घरायसी क्षेत्रमा विद्युत् खपत बढाउने नीति ल्याउन सरकारलाई आग्रह गरेको छ।

स्वदेशी विद्युत्को खपत बढाउन सके ग्यास तथा अन्य आयातित इन्धनमाथिको निर्भरता घट्ने, व्यापार घाटी कम हुने र मुलुकको अर्थतन्त्रलाई थप मजबुत बनाउन सहयोग पुग्ने पार्टीको भनाइ छ।

उज्यालो नेपाल पार्टीले बक्यौता विद्युत् महसुल असुली, विद्युत्मा लगाइएको भ्याट खारेजी र स्वदेशी विद्युत्को आन्तरिक खपत बढाउने ठोस नीति तथा कार्यक्रम तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

यी विषय उपभोक्ताको राहत, राज्यको राजस्व संरक्षण, सुशासन र राष्ट्रिय आर्थिक हितसँग प्रत्यक्ष जोडिएको भन्दै पार्टीले हस्ताक्षर अभियानमा सहभागी हुन आमनागरिकलाई आह्वान गरेको छ।

 
 
 
सम्बन्धित समाचार