काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आज ‘क्यान्डिडेट क्लब’ घोषणा गर्ने भएको छ ।
पार्टीले योग्य तथा इच्छुक व्यक्तिहरूलाई उम्मेदवारी प्रक्रियामा सहभागी गराउने उद्देश्यले ‘क्यान्डिडेट क्लब’ घोषणा गर्न लागेको हो । पार्टीका अनुसार क्लबमार्फत सम्भावित उम्मेदवारको पहिचान, छनोट तथा आवश्यक तयारीलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।
रास्वपाले परम्परागत राजनीतिक दलको शैलीभन्दा फरक ढंगबाट उम्मेदवार छनोट गर्ने बताउँदै आएको छ । उम्मेदवारको योग्यता, क्षमता, सामाजिक योगदान, सार्वजनिक छवि तथा सम्बन्धित क्षेत्रमा गरेको कामलाई प्राथमिकतामा राखिने पार्टीको भनाइ छ ।
‘क्यान्डिडेट क्लब’ मा सहभागी हुन इच्छुक व्यक्तिले पार्टीले निर्धारण गरेका मापदण्ड पूरा गर्नुपर्ने बताइएको छ । त्यसपछि उनीहरूको मूल्यांकन तथा छनोट प्रक्रिया अघि बढाइनेछ ।
आगामी निर्वाचनका लागि पार्टी संगठन विस्तार तथा उम्मेदवार तयारीलाई तीव्रता दिइरहेको रास्वपाले ‘क्यान्डिडेट क्लब’लाई त्यसैको महत्वपूर्ण चरणका रूपमा लिएको छ ।
आज हुने घोषणापछि क्लबको संरचना, सदस्य बन्न आवश्यक योग्यता, आवेदन प्रक्रिया तथा उम्मेदवार छनोटसम्बन्धी थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ ।