काठमाडौं । नागरिकलाई सिंहदरबार प्रवेशमा कडाइ गरिएको भन्दै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल संग्रौलाले आपत्ति जनाएकी छन्।
सिंहदरबार राज्य सञ्चालनको प्रमुख प्रशासनिक केन्द्र मात्र नभई आम नागरिकको पहुँच र सरोकारसँग जोडिएको स्थान भएकाले नागरिकलाई सहज रूपमा प्रवेश गर्न पाउने वातावरण बनाउनुपर्ने उनको धारणा छ।
सांसद संग्रौलाले नागरिक आफ्ना गुनासा, समस्या तथा माग लिएर सम्बन्धित मन्त्रालय र सरकारी निकायमा पुग्ने गरेको उल्लेख गर्दै प्रवेशमा अनावश्यक कडाइ गर्दा जनताको सरकारसँगको प्रत्यक्ष पहुँच प्रभावित हुने बताइन्।
उनले सुरक्षाका आवश्यक मापदण्ड पालना गरिनुपर्ने भए पनि त्यसका नाममा सर्वसाधारणलाई अनावश्यक दुःख दिने वा सरकारी निकायसम्म पुग्न कठिन बनाउने व्यवस्था उचित नहुने बताइन्।
सिंहदरबारमा प्रवेश गर्ने नागरिकको पहिचान तथा सुरक्षा जाँचलाई व्यवस्थित गर्दै सेवाग्राहीले आफ्नो काम सहज रूपमा सम्पन्न गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिइन्।
उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा सरकार र नागरिकबीचको सम्बन्ध प्रत्यक्ष र सहज हुनुपर्छ। जनताको समस्या सुन्ने तथा समाधान गर्ने सरकारी संयन्त्रसम्म नागरिकको पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व हो।
सांसद संग्रौलाले सिंहदरबार प्रवेशमा देखिएको कडाइबारे सम्बन्धित निकायले पुनर्विचार गर्दै नागरिकमैत्री व्यवस्था कायम गर्नुपर्ने मागसमेत गरेकी छन्।