अमेरिकाको नेपाली जनसम्पर्क समितिमा १२ वर्षपछि नयाँ नेतृत्व

1.2k Shares

काठमाडौं, भदौ १ — नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि आफ्नो तेस्रो अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। अमेरिकाको भर्जिनियामा सम्पन्न अधिवेशनबाट मुनिन्द्र नेम्वाङ सभापतिमा निर्वाचित भएका छन्।

सभापति पदका लागि नेम्वाङसहित ६ जनाबीच प्रतिस्पर्धा भएको थियो। नेम्वाङले २६६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनी यसअघि जनसम्पर्क समिति अमेरिकाको महामन्त्रीसमेत रहेका थिए।

अधिवेशनबाट वरिष्ठ उपसभापतिमा विनोद भट्ट र हरि पी. शर्मा निर्वाचित भएका छन्। उपसभापतिमा निमा बोम्जन, सञ्जीव श्रेष्ठ र श्रीराम थापा तथा युवा उपसभापतिमा सुशील खत्री निर्वाचित भएका छन्।

त्यस्तै, महामन्त्रीमा नारायण खनाल र गौतम दाहाल तथा सहमहामन्त्रीमा अर्जुन बम र अनिता परियार निर्वाचित भएका छन्। कोषाध्यक्षमा नारायण पी. पोखरेल निर्वाचित भएका छन्। अधिवेशनबाट १२ पदाधिकारी र १६ सदस्यसहित २८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको छ।

झण्डै चार हजार सदस्य रहेको नेपाली जनसम्पर्क समिति अमेरिका नेपाली कांग्रेसको ठूलो प्रवास संगठनमध्ये एक हो। अधिवेशनमा अमेरिकाका विभिन्न राज्यबाट करिब ६ सय मतदाता तथा शुभेच्छुक सहभागी भएका थिए।

यसअघि जनसम्पर्क समिति अमेरिकाको दोस्रो अधिवेशन सन् २०१४ मा भएको थियो। त्यसपछि लामो समयसम्म अधिवेशन हुन नसक्दा संगठनको नेतृत्व आनन्द विष्टले सम्हाल्दै आएका थिए। विष्टले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि सभापति पदबाट राजीनामा गरेसँगै नयाँ नेतृत्व चयनका लागि अधिवेशनको प्रक्रिया अघि बढेको थियो।

अधिवेशनमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ सहभागी भएका थिए। उद्घाटन समारोहलाई कांग्रेस सभापति गगन थापाले प्रविधिमार्फत सम्बोधन गरेका थिए।

नवनिर्वाचित सभापति नेम्वाङले जनसम्पर्क समितिलाई लोकतान्त्रीकरण, सामाजिकीकरण र आधुनिकीकरण गर्दै पार्टीको नीति तथा कार्यक्रमअनुसार अघि बढाउने प्रतिबद्धता जनाएका छन्। साथै, विदेशमा रहेका नेपालीको पहिचान र अधिकारसँग जोडिएको ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

सम्बन्धित समाचार