विराटनगर । एकल आमाको काखमा हुर्किएकी सपना परियार (क. सन्ध्या) को राजनीतिक यात्रा अब कोशी प्रदेश सरकारको राज्यमन्त्रीको जिम्मेवारीसम्म पुगेको छ। माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वमा ‘कमाण्डर’को भूमिकामा रहेकी उनी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी हुन्।
सुनसरीको इटहरी–५ मा २०४२ साल फागुन २२ गते जन्मिएकी सपनाको बाल्यकाल भने सहज थिएन। बुवा टेकबहादुर हिङमाङको निधनपछि उनी आमा नरमायाँ हिङमाङको काखमा हुर्किइन्। आमाले ज्याला–मजदुरी गरेर परिवार चलाउँदै छोरीलाई हुर्काइन्। अभावसँगै सामाजिक विभेदको अनुभव गरेकी सपना अहिले राज्यको नीति निर्माण र कार्यान्वयन गर्ने जिम्मेवारीमा पुगेकी छन्।
सपनाको राजनीतिक यात्रा २०५६ सालमा माओवादी निकट जनसांस्कृतिक टोलीबाट सुरु भएको थियो। परिवर्तनको सपना बोकेर राजनीतिमा सक्रिय भएकी उनी २०५७ सालमा पार्टीको ‘होलटाइमर’ कार्यकर्ता बनिन्।
माओवादी सशस्त्र द्वन्द्वका क्रममा उनले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को मोरङ–सुनसरी संयुक्त सचिव, सुनसरी जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिवालय सदस्यसम्मको जिम्मेवारी सम्हालिन्। संगठन विस्तारका क्रममा उनी पाँचथरसहित विभिन्न पहाडी जिल्लामा समेत सक्रिय रहिन्।
पार्टी संगठनमा उनको सक्रियता र लोकप्रियता निर्वाचनबाट समेत देखिएको थियो। सुनसरी जिल्ला सदस्यको निर्वाचनमा उनी प्रतिस्पर्धीमध्ये सबैभन्दा बढी मत ल्याएर प्रथम भएकी थिइन्। त्यसपछि जिल्ला कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै पार्टीको आठौँ महाधिवेशनबाट ४० वर्षमुनिको युवा तथा दलित कोटाबाट केन्द्रीय सदस्य बनिन्।
सपनाले २०७० सालको संविधानसभा निर्वाचन र २०७५ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिए पनि विजयी हुन सकिनन्। निर्वाचनमा पराजय भए पनि उनले राजनीतिक सक्रियता भने निरन्तर जारी राखिन्।
२०७९ सालको निर्वाचनपछि माओवादी केन्द्रको समानुपातिकतर्फबाट कोशी प्रदेशसभा सदस्य बनेकी सपना प्रदेशसभामा सक्रिय सांसदका रूपमा स्थापित भइन्। संसद्को रोष्टममा उभिँदा खरो र तार्किक ढंगले आफ्ना धारणा राख्ने सांसदका रूपमा उनको पहिचान बनेको थियो।
विशेषगरी दलित, महिला, सीमान्तकृत तथा विपन्न समुदायका विषयलाई उनले प्रदेशसभामा प्राथमिकताका साथ उठाउँदै आएकी थिइन्। बजेट, विधेयक तथा समसामयिक विषयमा उनले राख्ने धारणा अध्ययनमा आधारित हुने गरेको थियो। विधेयकमाथिको सैद्धान्तिक तथा दफावार छलफलमा समेत उनी सक्रिय रहिन्।
सपनाले द्वन्द्वपछिको शान्ति प्रक्रियामा समेत भूमिका निर्वाह गरेकी छन्। उनी स्थानीय शान्ति समिति सुनसरीको संयोजकसमेत भएकी थिइन्। कृषि क्षेत्रमा समेत रुचि राख्ने उनले भारतको केरला पुगेर त्यहाँको कृषि प्रणालीको अध्ययन तथा अवलोकन गरेकी छन्।
समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेकी सपना परियार अहिले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारीमा पुगेकी छन्। सामान्य दलित परिवारमा जन्मिएर, एकल आमाको संघर्षमा हुर्किएदेखि राज्यको कार्यकारी जिम्मेवारीसम्मको उनको यात्रा आफैंमा संघर्ष र राजनीतिक निरन्तरताको उदाहरण बनेको छ।
अब भने संसदमा सीमान्तकृत तथा विपन्न समुदायका मुद्दा उठाउँदै आएकी सपनासामु कार्यपालिकामा रहेर ती समुदायका समस्या सम्बोधन गर्ने चुनौती थपिएको छ। विशेषगरी भौतिक पूर्वाधारसँग जोडिएका विकास आयोजना, पहुँचविहीन क्षेत्रको पूर्वाधार विस्तार र नागरिकका आधारभूत आवश्यकतासँग सम्बन्धित विषयमा उनको कार्यसम्पादनलाई चासोका साथ हेरिनेछ।