काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनताका प्रश्नको सरकारले स्पष्ट र दफावार जवाफ दिनुपर्ने माग गरे।
साम्पाङले संसद्मा उठाइएका विषयलाई व्यक्तिगत नभई जनताका सवालका रूपमा लिन सरकारलाई आग्रह गरे। सभामुखले समेत सरकारलाई आवश्यक निर्देशन दिएको भन्दै उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने अपेक्षा व्यक्त गरे।
“अब हामीले संसद्मा बोल्छौँ, सरकार संसद्प्रति जवाफदेही बन्नुपर्छ भन्ने माग हिजोसम्म राख्यौँ। सभामुखज्यूले निर्देशन पनि दिनुभएको छ। आशा गर्छु, प्रधानमन्त्रीज्यू आएर जनताको प्रश्नको दफावार उत्तर दिनुहुनेछ,” उनले भने।
साम्पाङले सरकारका विभिन्न मन्त्रालयले आफ्नो जिम्मेवारीअनुसार प्रभावकारी काम गर्न नसकेको आरोपसमेत लगाए। उनले प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीको जिम्मेवारी औँल्याउँदै सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाए।
उनका अनुसार प्रधानमन्त्रीले सीमा रक्षा गर्न नसकेको, गृहमन्त्रीले सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न नसकेको तथा आपूर्ति मन्त्रीले ग्यास र मलको सहज आपूर्ति सुनिश्चित गर्न नसकेको अवस्था छ।
त्यस्तै, श्रम तथा रोजगार मन्त्रालयले रोजगारी सिर्जना गर्न नसकेको, अर्थ मन्त्रालयले बजार व्यवस्थापन र राहतका काम प्रभावकारी बनाउन नसकेको तथा महँगी नियन्त्रणमा समेत सरकार असफल भएको साम्पाङको टिप्पणी थियो।
उनले सहकारी पीडितको रकम फिर्ता गर्ने विषयमा पनि सरकार गम्भीर बन्नुपर्ने बताए।
साम्पाङले प्रश्न गर्दै भने, “प्रधानमन्त्री सीमा रक्षा गर्न नसक्ने, गृहमन्त्रीले सुरक्षा दिन नसक्ने, शान्ति सुव्यवस्था दिन नसक्ने, आपूर्ति मन्त्रीले ग्यास, मल दिन नसक्ने, श्रम रोजगार मन्त्रीले रोजगारी दिन नसक्ने, अर्थमन्त्रीले बजार दिन नसक्ने, राहत दिन नसक्ने, महँगी नियन्त्रण गर्न नसक्ने, सहकारी पीडितले पैसा फिर्ता गर्न नसक्ने?”
उनले जनताका समस्या समाधान गर्नु सरकारको मुख्य दायित्व भएकाले संसद्मा उठेका प्रश्नबाट सरकार पन्छिन नहुने धारणा राखे।