काठमाडौं । खाना पकाउने ग्यासको अभावका कारण विद्यार्थीको दैनिकी प्रभावित भएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारको ध्यानाकर्षण गराएको छ। संघले मंगलबार काठमाडौंस्थित त्रिचन्द्र क्याम्पस परिसरमा खाली ग्यास सिलिन्डर बोकेर विरोध प्रदर्शन गरेको हो।
ग्यासको सहज आपूर्ति सुनिश्चित गर्दै विद्यार्थीले भोग्दै आएको समस्या तत्काल समाधान गर्नुपर्ने माग नेविसंघले राखेको छ। प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारको व्यवस्थापनप्रति प्रश्न उठाउँदै विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
‘नो लाइन भनेको होइन सरकार ? ग्यासमा लाइन किन देखियो ?’, ‘चुल्हो निभ्यो पढाइ रोकियो, सरकारको व्यवस्थापन कहाँ हरायो ?’ लगायतका नारामार्फत उनीहरूले ग्यास अभावप्रति असन्तुष्टि जनाएका थिए।
त्यस्तै, ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’, ‘ग्यासको समस्या समाधान गर्’ र ‘विद्यार्थीको समस्या समाधान गर्’ जस्ता नारासहित प्रदर्शनकारीले तत्काल समस्या समाधानका लागि सरकारलाई दबाब दिएका थिए।