काठमाडौं । साहित्यकार कुमार नगरकोटीलाई नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपति नियुक्त गरिएको विषयले संसदमा प्रवेश पाएको छ। एमाले सांसद भूमिका लिम्बुले नगरकोटीको नियुक्तिसँगै प्रतिष्ठानका पदाधिकारी चयन प्रक्रिया र नियुक्त हुने व्यक्तिको नैतिक आचरणमाथि प्रश्न उठाएकी छन्।
संसदमा बोल्दै लिम्बुले प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी तथा सदस्य नियुक्तिमा पारदर्शिता नअपनाइएको आरोप लगाइन्। योग्य व्यक्तिको छनोट गर्ने भनिए पनि आवेदनदेखि सिफारिससम्मको प्रक्रिया स्पष्ट नभएको उनको भनाइ थियो।
उनले आवेदकको सूची, सर्टलिस्ट तथा अन्तर्वार्तासम्बन्धी विवरण सार्वजनिक नगरिएको भन्दै सरकारसँग प्रश्न गरिन्। आवेदन मागेर प्रक्रिया पूरा गरेको देखाउने तर अन्ततः आफूअनुकूल व्यक्तिलाई नियुक्त गर्ने प्रवृत्ति भए आवेदन आह्वान गर्नुको औचित्यमाथि समेत उनले प्रश्न उठाइन्।
लिम्बुले प्रज्ञा–प्रतिष्ठानलाई सामान्य सरकारी रोजगारी दिने निकायका रूपमा मात्र हेर्न नहुने बताइन्। भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्ने संस्थाको नेतृत्वमा पुग्ने व्यक्तिको शैक्षिक तथा प्राज्ञिक योग्यतासँगै सार्वजनिक आचरण पनि मूल्यांकन गर्नुपर्ने उनले बताइन्।
नगरकोटीको नियुक्तिलाई लक्षित गर्दै लिम्बुले महिलाप्रतिको दृष्टिकोण र सार्वजनिक अभिव्यक्तिसँग जोडिएका नैतिक प्रश्न उठेको व्यक्तिलाई प्रतिष्ठानको नेतृत्व दिनु उचित हो कि होइन भन्ने प्रश्न सदनमा उठाएकी हुन्।
उनले सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको महिलाप्रतिको दृष्टिकोण, नैतिक आचरण र सामाजिक जिम्मेवारीसमेत नियुक्तिको आधार बन्नुपर्ने धारणा राखिन्।