सेनाध्यक्ष सम्मान समारोहमा प्रधानमन्त्री जाने चलन तोडिएपछि चर्चामा बालेन

1.4k Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह सहभागी भएनन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतलनिवासमा आयोजित समारोहमा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको देशले मानार्थ सैन्य दर्जा दिने परम्परा लामो समयदेखि कायम छ। सन् १९५० देखि सुरु भएको यो अभ्यासअन्तर्गत नेपालले भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथी’ र भारतले नेपाली सेनाका प्रधानसेनापतिलाई ‘मानार्थ जनरल’ को सम्मान दिने गरेको छ।

यसपटकको समारोहमा प्रधानमन्त्री शाह उपस्थित नभएपछि पुरानो अभ्यासलाई लिएर चासो बढेको छ। नेपालमा भारतीय सेनाध्यक्षलाई मानार्थ दर्जा प्रदान गरिँदा प्रधानमन्त्रीसमेत समारोहमा सहभागी हुने अभ्यास रहँदै आएको थियो।

हाल प्रधानमन्त्री शाहले नै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। तर शीतलनिवासमा भएको समारोहमा प्रधानमन्त्रीको सट्टा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भएका थिए।

राष्ट्रपति कार्यालयले भने प्रधानमन्त्रीको उपस्थिति अनिवार्य नभएको जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मानार्थ समारोह भएकाले प्रधानमन्त्रीको सहभागिता अनिवार्य नरहेको बताएका छन्। उनका अनुसार भारतमा नेपाली सेनापतिलाई मानार्थ दर्जा प्रदान गर्दा पनि प्रधानमन्त्री सहभागी हुने गरेको देखिँदैन।

यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई भारतका राष्ट्रपति द्रौपदी मुर्मूले २०२४ डिसेम्बर १२ मा भारतीय सेनाको मानार्थ जनरलको दर्जा प्रदान गरेकी थिइन्। उक्त कार्यक्रममा भारतीय पक्षबाट रक्षामन्त्रीसमेत सहभागी नभई रक्षा राज्यमन्त्री सञ्जय सेठ उपस्थित भएका थिए।

प्रधानमन्त्री शाह समारोहमा अनुपस्थित भए पनि भारतीय सेनाध्यक्ष सेठसँग भने उनले छुट्टै भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार शाह र सेठबीच आज सिंहदरबारमा भेटवार्ता हुँदैछ।

नेपाली सेनाले भने प्रधानमन्त्रीको अनुपस्थितिबारे कुनै प्रतिक्रिया दिएको छैन। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले कार्यक्रम राष्ट्रपति कार्यालयसँग सम्बन्धित भएकाले यसबारे आफूहरूलाई जानकारी नहुने बताएका छन्।

सम्बन्धित समाचार