देउवाको ‘म हिन्दु हुँ’ अभिव्यक्तिले फेरि ब्युँतायो धर्मनिरपेक्षताको बहस

1.2k Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय सार्वजनिक रूपमा हिन्दु धर्मको पक्षमा अभिव्यक्ति दिन थालेपछि उनको राजनीतिक यात्रासँग जोडिएको धर्मनिरपेक्षताको बहस फेरि सतहमा आएको छ।

देउवाको पछिल्लो अभिव्यक्तिलाई कांग्रेसभित्र लामो समयदेखि हिन्दु राष्ट्रको मुद्दा उठाउँदै आएका दिवंगत नेता खुमबहादुर खड्काको राजनीतिक लाइनसँग जोडेर विश्लेषण गर्न थालिएको छ।

कांग्रेस संस्थापन इतर समूहको कार्यक्रममा देउवाले आफू हिन्दु भएको दोहोर्‍याउँदै नेपालमा हिन्दुलाई हिन्दु भन्न नपाइने अवस्था हुन नहुने बताएका थिए। उनले आफू पशुपति जाने र पूजा गर्ने प्रसंगसमेत उल्लेख गरेका थिए।

खुमबहादुर खड्का भने नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने अभियानमा लामो समयदेखि सक्रिय थिए। २०६३ मा प्रतिनिधिसभाबाट नेपाल धर्मनिरपेक्ष घोषणा हुँदा उनी त्यसको विपक्षमा उभिएका थिए।

देउवालाई पार्टी सभापति बनाउन खड्काले महत्वपूर्ण भूमिका खेले पनि धर्म र राजतन्त्रका विषयमा उनको धारणाका कारण देउवाले उनलाई उपसभापति बनाउन अस्वीकार गरेको कांग्रेस नेताहरूको भनाइ उद्धृत गरिएको छ।

तर अहिले परिस्थिति बदलिएको छ। विगतमा धर्मनिरपेक्षताको संवैधानिक व्यवस्थाभित्र रहेर राजनीति गरेका देउवा स्वयं हिन्दु पहिचानलाई सार्वजनिक राजनीतिक अभिव्यक्तिको विषय बनाउन थालेका छन्।

कांग्रेस नेताहरूका अनुसार देउवाले यसअघि पनि हिन्दु राष्ट्रको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए।

२०८० सालमा कांग्रेस नवलपुरको जिल्ला सम्मेलनमा समेत देउवाले धर्मनिरपेक्षता हटाएर नेपाललाई हिन्दु राज्य बनाउने विषयमा छलफल गर्न सकिने धारणा राखेका थिए। त्यसपछि कांग्रेसका विभिन्न बैठक तथा महासमिति तहमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियानसमेत चलेको थियो।

देउवाको पछिल्लो अभिव्यक्तिको राजनीतिक उद्देश्यबारे भने कांग्रेसभित्र फरक–फरक व्याख्या छन्। राजनीतिशास्त्री कृष्ण खनालले शक्ति पुनःप्राप्तिको सोचले यस्तो अभिव्यक्तिमा भूमिका खेलेको हुनसक्ने बताएका छन्। उनका अनुसार हिन्दु धर्मसमर्थक समूह र भारतलाई खुसी पार्ने मनसाय पनि यसमा जोडिएको हुनसक्छ।

पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताले भने राजतन्त्र र भारतलाई खुसी बनाएर राजनीतिक लाभ लिन खोजिएको हुनसक्ने तर्क गरेका छन्। तर हिन्दु राष्ट्रको पक्षमा सक्रिय कांग्रेस नेता शंकर भण्डारीले भने आफूहरूको अभियानको प्रभाव बढ्दै गएकाले देउवाले मनैदेखि यस्तो धारणा राखेको हुनसक्ने बताएका छन्।

यसअघि देउवाले भारतबाट नेपाललाई हिन्दु राष्ट्र बनाउन दबाब आएको प्रसंगसमेत सार्वजनिक रूपमा उल्लेख गरेका थिए। राप्रपा नेता कमल थापाको पुस्तकमा उद्धृत गरिएको विवरणअनुसार देउवाले आफूलाई भारतबाट हिन्दु राष्ट्र कायम गर्न आग्रह गरिएको तर त्यसलाई कार्यान्वयन गर्न नसकेको बताएका थिए।

नेपाललाई पहिलोपटक २०१९ सालको संविधानमार्फत हिन्दु राष्ट्र घोषणा गरिएको थियो। २०६२/०६३ को जनआन्दोलन, माओवादी सशस्त्र द्वन्द्व र त्यसपछिका राजनीतिक परिवर्तनसँगै नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेको हो। अहिले देउवाको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्र धर्मको मुद्दा पुनः राजनीतिक बहसको केन्द्रमा आउने संकेत गरेको छ।

सम्बन्धित समाचार