सात हजार कुखुराको परीक्षण, १० संक्रामक रोग पत्ता

1.3k Shares

चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षको अवधिमा सात हजार कुखुराको ‘पोष्टमार्टम’ गरी विभिन्न रोगको पहिचान गरेको छ। चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानबाट ल्याइएका कुखुराको परीक्षण गरिएको हो।

प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएका छन्। पोष्टमार्टमसँगै एक हजार ५०० कुखुराको नमुना परीक्षण गर्दा १० प्रकारका रोगको सङ्क्रमण देखिएको उनले जानकारी दिए।

परीक्षणका क्रममा २२ प्रतिशत कुखुरामा इकोलाई, १३ प्रतिशतमा गम्बारो र नौ प्रतिशतमा कुखुरामा घ्यारघ्यार हुने रोग अर्थात् सिआरडी देखिएको छ। यस्तै, ढुसीजन्य रोग पनि नौ प्रतिशतमा देखिएको छ भने सिसिआरडी चार प्रतिशत र साल्मोनेलोसिस तीन दशमलव पाँच प्रतिशत कुखुरामा भेटिएको प्रयोगशालाले जनाएको छ।

यसका साथै एभिएन इन्फ्लुएन्जा, कुखुराको हैजा, आइबी र रानीखेत रोगको सङ्क्रमणसमेत देखिएको छ। द्रुत परीक्षणका क्रममा २७८ वटा नमुना परीक्षण गर्दा ४७ वटामा एभिएन इन्फ्लुएन्जा सङ्क्रमण पुष्टि भएको छ। गम्बारोका लागि परीक्षण गरिएका १७६ नमुनामध्ये १०९ वटामा सङ्क्रमण देखिएको छ।

त्यस्तै, ७९ वटा नमुनाको रानीखेत परीक्षण गर्दा सात वटामा रोग देखिएको छ भने ४६ वटा आइबी परीक्षणका क्रममा दुई वटामा सङ्क्रमण भेटिएको डा श्रेष्ठले बताए।

प्रयोगशालाले विभिन्न विधिबाट समेत रोग पहिचान गर्दै आएको छ। ३६९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२ वटामा साल्मोनेला र ३६० वटा नमुना परीक्षण गर्दा १६ वटामा माइकोप्लाज्मा सङ्क्रमण देखिएको छ।

यसैगरी, १८४ वटा नमुनाको इलाइजा परीक्षण गर्दा ३८ वटामा माइकोप्लाज्मा तथा ९२ वटामा चिकेन इन्फेक्सस एनेमिया भाइरस (सिआइएभी) को सङ्क्रमण देखिएको उनले जानकारी दिए।

नौ सय वटा कुखुराको नमुना कल्चर गर्दा ७८९ नमुनामा सङ्क्रमण देखिएको छ। सङ्क्रमण पुष्टि भएका कुखुरामा कुन एन्टीबायोटिक प्रभावकारी हुन सक्छ भन्ने विषयमा समेत सेवाग्राहीलाई आवश्यक जानकारी दिइएको प्रयोगशालाले जनाएको छ।

डा श्रेष्ठले कुखुराजन्य रोगको सङ्क्रमण रोक्न जैविक सुरक्षा अपनाउन आवश्यक रहेको बताए। फार्ममा आवश्यक जैविक सुरक्षा मापदण्ड पालना नगर्दा रोगको जोखिम थपिने भएकाले किसानले सरसफाइ, रोग नियन्त्रण र जैविक सुरक्षामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

सम्बन्धित समाचार