काठमाडौंमा आगामी २७ अगस्ट अर्थात् ११ भदौमा भारतीय टेलिभिजन च्यानल एनडीटीभी वर्ल्डले ‘एनडीटीभी अन्वीक्षा : सीमापार विचार’ संवाद शृङ्खलाको पहिलो कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा नेपाल र भारतका राजनीति, अर्थतन्त्र, कूटनीति, व्यवसाय, संस्कृति तथा खेल क्षेत्रका प्रभावशाली व्यक्तित्व सहभागी हुनेछन्।
काठमाडौंस्थित याक एन्ड यतिमा हुने कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेस सभापति गगन थापा, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय समितिकी सभापति सुम्निमा उदासलगायत सहभागी हुनेछन्।
त्यस्तै, भारतका तर्फबाट पूर्वकेन्द्रीय मन्त्री तथा कांग्रेस नेता डा. शशि थरुर, इन्डिया फाउन्डेसनका अध्यक्ष डा. राम माधव, भाजपाका डा. विनय सहस्रबुद्धे, डा. विजय चौथाइवाले तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी हुनेछन्। अभिनेता राजेश हमाल, अभिनेत्री मनिषा कोइराला तथा पूर्वक्रिकेटर पारस खड्काले पनि कार्यक्रममा आफ्ना धारणा राख्नेछन्।
संवादमा नेपालको राजनीतिक तथा आर्थिक विकास, लोकतान्त्रिक परिवर्तन, युवाका आकांक्षा, प्रविधि, पर्यटन, पूर्वाधार, वातावरण, व्यापार र क्षेत्रीय सहकार्यका विषयमा छलफल हुनेछ। साथै भारतसँगको सम्बन्ध, दक्षिण एसियाको बदलिँदो भूराजनीति तथा विश्वमा नेपालको भूमिका र प्राथमिकताबारे समेत बहस हुने एनडीटीभीले जनाएको छ।
‘अन्वीक्षा’ नाम प्राचीन भारतीय परम्पराको ‘आन्वीक्षिकी’ शब्दबाट लिइएको हो, जसले तर्क, चिन्तन र परीक्षणमार्फत विषयलाई बुझ्ने अवधारणालाई जनाउँछ। काठमाडौंमा हुने कार्यक्रम यस विश्वव्यापी संवाद शृङ्खलाको पहिलो संस्करण हो।
एनडीटीभीका अनुसार ‘अन्वीक्षा’को उद्देश्य देशहरूलाई बाहिरबाट बनेका धारणाभन्दा उनीहरूकै दृष्टिकोण, प्राथमिकता र आकांक्षाका आधारमा बुझ्ने संवादको वातावरण निर्माण गर्नु हो। काठमाडौंको कार्यक्रमपछि यो संवाद शृङ्खला विश्वका अन्य देश तथा महादेशसम्म विस्तार गरिनेछ।