नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा स्वकीय सचिव गंगा दाहालले आफू र आफ्नो परिवारमाथि लगाइएका आर्थिक अनियमिततासम्बन्धी आरोप पुष्टि गर्न चुनौती दिएकी छन्।
फेसबुकमार्फत वक्तव्य जारी गर्दै दाहालले केही समयअघि आफूहरूसँग दुबईमा ४० अर्ब रुपैयाँ रहेको तथा नेपालका ठूला घरजग्गा र भाटभटेनीलगायतका व्यवसायमा स्वामित्व रहेको आरोप लगाइएको उल्लेख गरेकी छन्। अहिले ती आरोपको ठाउँमा ५० करोड रुपैयाँको हल्ला फैलाउन खोजिएको उनको दाबी छ।
आरोप लगाउनेहरूले आफ्ना दाबी पुष्टि गर्नुपर्ने भन्दै उनले राजनीतिक प्रतिशोध र विरोधी हुनुको पनि सीमा हुने बताएकी छन्। अपुष्ट आरोपहरू किन र कुन उद्देश्यले फैलाइन्छन् भन्ने विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने उनको माग छ।
दाहालले आफू र आफ्नो परिवार संविधान तथा कानुनबमोजिम हुने जुनसुकै निकायको छानबिनका लागि तयार रहेको बताएकी छन्। आफूहरूले यसअघि नै सरकारसमक्ष सम्पत्ति विवरण बुझाइसकेको दाबी गर्दै उनले सरकारी अनुसन्धानमा पूर्ण सहयोग गर्ने र गलत काम पुष्टि भए कानुनी कारबाही भोग्न तयार रहेको उल्लेख गरेकी छन्।
आफूहरूबाट कुनै आर्थिक गलत गतिविधि वा पदको दुरुपयोग नभएको दाबी गर्दै उनले आधारहीन आरोप भने स्वीकार्य नहुने चेतावनी दिएकी छन्।
समाज परिवर्तनको अभियानमा लागेको आफ्नो परिवारको विगत स्मरण गर्दै दाहालले आफूहरूको बाल्यकाल असामान्य परिस्थितिमा बितेको बताएकी छन्। आफूहरू मृत्युको मुखबाट बाँचेर आएको उल्लेख गर्दै उनले जनतालाई धोका दिन नसक्ने आफ्नो राजनीतिक संस्कार रहेको बताएकी छन्।
‘आफ्नो व्यक्तिगत जीवनसमेत नभनी मैले मेरो बुबालाई छोरीको नाताले सहयोग गर्नु नै मेरो अपराध हो त?’ भन्दै उनले आफूविरुद्ध लगाइएका आरोपप्रति प्रश्न उठाएकी छन्।