काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठक सम्पन्न भएको छ। पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा साउन २८ र भदौ ४ गते बसेको बैठकले समसामयिक विषयसँगै विभिन्न नीतिगत तथा कार्ययोजनामाथि छलफल गरेको हो।
बैठकले बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिकाको अपहरणपछि बलात्कार तथा हत्या भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गरेको छ। घटनालाई क्रूर, पाशविक र दानवीय प्रवृत्तिको संज्ञा दिँदै प्रतिष्ठानले बालिका अपहरणमा परेको सूचना समयमै प्राप्त हुँदाहुँदै पनि खोजी कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन नसक्नु राज्यको नागरिक सुरक्षाप्रतिको गैरजिम्मेवार व्यवहार भएको ठहर गरेको छ।
प्रतिष्ठानले पीडित परिवारलाई न्याय र राहतको सुनिश्चितता गर्न राज्यसँग माग गरेको छ। यस्ता आपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्न सुरक्षा तथा सम्बन्धित निकायलाई थप जिम्मेवार बनाउनुपर्नेमा पनि बैठकले जोड दिएको छ।
बैठकको दोस्रो दिन नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरीको स्मृतिमा प्रतिष्ठान प्रमुख शर्माले श्रद्धाञ्जली अर्पण गरेका थिए। प्रतिष्ठानका उपप्रमुख मधु आचार्यसहित सदस्यहरूले स्वर्गीय गिरीसँगका आफ्ना अनुभव तथा स्मृतिसमेत साझा गरेका थिए।
बैठकमा तीन वटा विषयगत उपसमितिले आ–आफ्ना नीति तथा कार्ययोजना प्रस्तुत गरेका थिए। यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी नीति तथा कार्ययोजना उपसमितिका संयोजक प्रतीक्षा चापागाईं, स्वास्थ्य बीमा तथा सेवामा पहुँचसम्बन्धी नीतिगत संवाद उपसमितिका संयोजक डा. अञ्जनीकुमार झा तथा स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमितिका संयोजक डोलराज भुसालले प्रस्तुति दिएका थिए।
प्रस्तुतिमाथि प्रतिष्ठानका सदस्यहरूले सुझाव तथा जिज्ञासा राखेका थिए। नीतिलाई थप प्रभावकारी, व्यावहारिक तथा कार्यान्वयनमुखी बनाउन आवश्यक विषयमा सदस्यहरूबीच छलफल भएको थियो।
त्यसैगरी, बैठकमा आगामी भदौ ६ गते आयोजना हुने ‘ग्रीनरन महिला रि–रन’ तथा भदौ ११ गते हुने महिला उद्यमशीलता सम्मेलनको तयारीबारे समेत जानकारी गराइएको थियो। बैठकले समसामयिक विषयमा अध्ययन, अनुसन्धान तथा नीतिगत बहसलाई निरन्तरता दिने विषयमा समेत जोड दिएको छ।