जुरा । दुर्गम पहाडी जिल्ला बाजुराका दुई स्थानीय तहले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। जिल्लाका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएका हुन्।
गौमुल गाउँपालिकाले यही भदौ ३ गतेदेखि अस्पतालबाट सेवा दिन थालेको हो। निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि अस्पताल सञ्चालनमा आएको हो। विद्युत्, औषधि, उपकरण र जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा सेवा सुरु गर्न समय लागेको गाउँपालिकाले जनाएको छ।
अस्पतालमा मेडिकल अधिकृतसहित २२ जना कर्मचारी रहने व्यवस्था छ। तत्काल चिकित्सक उपलब्ध हुन नसकेपछि उपलब्ध जनशक्तिबाट सीमित सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ। आवश्यक जनशक्ति, औषधि र उपकरण थप गर्दै सेवा विस्तार गर्ने तयारी छ।
यता जगन्नाथ गाउँपालिकाले भने २०८० चैतदेखि नै १० शय्याको आधारभूत अस्पताल सञ्चालन गर्दै आएको छ। जुड्डीमा निर्माण गरिएको उक्त अस्पताल बनाउन ११ करोड ७८ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ। अस्पताल सञ्चालनमा आए पनि केही जनशक्ति र उपकरणको अभाव रहेको गाउँपालिकाले जनाएको छ।
आधारभूत अस्पताल सञ्चालनमा आएपछि गौमुललगायतका स्थानीयलाई सामान्य उपचारका लागि सदरमुकाम मार्तडी वा धनगढीसम्म पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
सरकारले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले २०७७ सालमा ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम अघि सारेको थियो। तर बाजुराका अन्य स्थानीय तहमा भने अस्पताल निर्माण तथा सञ्चालनको काम अझै पूरा हुन सकेको छैन।