बीएनपी नेता आलमगीर बने बंगलादेशका नयाँ राष्ट्रपति

1k Shares

ढाका, भदौ ५ गते । बंगलादेशको राष्ट्रपतिमा सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएका छन्।

बंगलादेशको संसद्ले बिहीबार भएको निर्वाचनमा आलमगीरलाई २५५ मतसहित देशको २३औँ राष्ट्रपति निर्वाचित गरेको हो। उनका एकमात्र प्रतिद्वन्द्वी तथा जमात–ए–इस्लामी नेतृत्वको ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत प्राप्त गरे।

राष्ट्रपति निर्वाचनमा ३४९ सांसद मतदानका लागि योग्य रहेकामा ३४३ जनाले मतदान गरेका थिए। निर्वाचन परिणाम प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन अधिकृत एएमएम नासिर उद्दिनले सार्वजनिक गरेका हुन्। निर्वाचन आयोगले आलमगीरलाई राष्ट्रपति निर्वाचित भएको औपचारिक राजपत्रसमेत जारी गरेको छ।

करिब ३५ वर्षपछि बंगलादेशमा राष्ट्रपतिको निर्वाचन प्रतिस्पर्धात्मक बनेको हो। सन् १९९१ पछि भएका अधिकांश राष्ट्रपति निर्वाचनमा सत्तारूढ दलका उम्मेदवार निर्विरोध निर्वाचित हुँदै आएका थिए।

७८ वर्षीय आलमगीर बीएनपीका लामो समयदेखि प्रभावशाली नेता हुन्। उनी सन् २०१६ देखि पार्टीका महासचिवका रूपमा कार्यरत थिए। पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा उनी विपक्षी आन्दोलनका प्रमुख नेतामध्ये एक थिए र विभिन्न समयमा पक्राउसमेत परेका थिए।

सन् २०२४ को विद्यार्थी आन्दोलनपछि शेख हसिना सत्ताबाट हटेपछि बंगलादेशको राजनीतिमा ठूलो परिवर्तन आएको थियो। त्यसपछि भएको निर्वाचनमा बीएनपी सत्तामा फर्किएको हो। अहिले तारिक रहमान प्रधानमन्त्री छन्।

बंगलादेशमा राष्ट्रपतिको भूमिका मुख्यतः औपचारिक भए पनि राष्ट्रपति राष्ट्रप्रमुख तथा सशस्त्र सेनाका सर्वोच्च कमान्डर हुने संवैधानिक व्यवस्था छ। आलमगीरले शुक्रबार साँझ बंगभवनमा शपथ लिने तयारी रहेको जनाइएको छ।

सम्बन्धित समाचार