काठमाडौं । निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई लक्षित गरी विशेष ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले आगामी आइतबारदेखि प्रत्येक आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विशेष ओपीडी सञ्चालन गर्न लागेको हो।
अस्पतालका अनुसार विशेष ओपीडीमार्फत कर्मचारी तथा उनीहरूका परिवारलाई सहज, छिटो र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ। नियमित उपचारका क्रममा लामो समय लाइन बस्नुपर्ने अवस्थालाई समेत कम गर्ने अस्पतालको लक्ष्य छ।
विशेष ओपीडीमा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान–घाँटी (इएनटी), रेडियोलोजी र प्याथोलोजी लगायतका सेवा उपलब्ध हुनेछन्।
अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार विशेष ओपीडीअन्तर्गत आगामी दिनमा थप विशिष्टीकृत स्वास्थ्य सेवासमेत विस्तार गरिनेछ।
निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गरी सुरु गर्न लागिएको यो सेवाले उपचारका लागि अस्पतालमा लाग्ने समय घटाउनुका साथै स्वास्थ्य सेवा लिन थप सहज हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।