१५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा समूह सर्वोच्चमा

1.2k Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ।

पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा समूहले अदालतको ढोका ढकढक्याएको हो।

देउवाको तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमार सर्वोच्च पुगेका छन्। कांग्रेस इतर समूहका प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माले रिट सर्वोच्चमा पुगेको जानकारी दिएका छन्।

रिटमा कांग्रेसको महाधिवेशनसम्बन्धी हालै सार्वजनिक गरिएको प्रक्रिया तथा कार्यतालिका रोक्न उत्प्रेषणको आदेश माग गरिएको छ।

संस्थापन पक्षले २४ भदौदेखि वडा अधिवेशन सुरु गर्ने र १६ देखि १९ असोजसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। सभापति गगन थापाले भने महाधिवेशन प्रक्रिया नरोकिने बताउँदै आएका छन्। यससँगै कांग्रेसभित्रको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको तयारी थप कानुनी तथा राजनीतिक विवादमा तानिएको छ।

सम्बन्धित समाचार