रास्वपा बैठकमा बालेन अनुपस्थित, पदाधिकारी मनोनयनमा पनि दिएनन् नाम

1.2k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पहिलो महाधिवेशन सम्पन्न भएको करिब दुई महिनापछि पार्टीका पदाधिकारी तथा केही जनसंगठन विभागका प्रमुखको जिम्मेवारी तोकेका छन्। तर प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पक्षबाट नाम नआएपछि तीन पदको मनोनयन भने अझै रोकिएको छ।

रास्वपामा एक महामन्त्री, एक उपसभापति र एक सहमहामन्त्रीको पद अझै रिक्त छ। बालेन पक्षलाई यीमध्ये केही पद दिने तयारी रहे पनि उनको पक्षबाट नाम नआएका कारण मनोनयन प्रक्रिया अघि बढ्न नसकेको खबरहबले जनाएको छ।

गत साउन २३ गते सभापति लामिछानेले बालेनलाई भेटेर पदाधिकारीका लागि नाम पठाउन आग्रह गरेका थिए। तर नाम नआएपछि लामिछानेले शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट आफ्ना पक्षका नेताहरूलाई विभिन्न जिम्मेवारी दिएका छन्।

बैठकले पूर्वसञ्चारमन्त्री जगदीश खरेललाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ। यसअघि प्रमोद न्यौपाने र दीपक बोहरा रवि लामिछानेका विश्वासपात्रका रूपमा चर्चामा रहे पनि उनीहरूलाई मुख्य जिम्मेवारी नदिइएको उल्लेख छ।

त्यस्तै, तोसिमा कार्कीलाई जनस्वास्थ्य संगठनको प्रमुख, पूर्वकोषाध्यक्ष लिमा अधिकारीलाई अर्थ विभाग प्रमुख तथा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाललाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी दिइएको छ। जनजी अभियन्ता पुरुषोत्तम यादवलाई सहमहामन्त्री बनाइएको छ। नमिता यादव र सुरेन्द्र चौधरी सहप्रवक्तामा मनोनीत भएका छन्।

बालेन पक्षसँग जोडिएका भूपदेव शाह र सुनिल लम्साललाई भने केन्द्रीय सदस्य मनोनीत गरिएको छ। भूपदेवलाई महामन्त्री र सुनिललाई उपसभापति बनाउने चर्चा भए पनि उनीहरूलाई तत्काल ती जिम्मेवारी दिइएको छैन।

यसैबीच, शुक्रबारको केन्द्रीय समिति बैठकमा बालेन सहभागी भएनन्। उनी निजी भ्रमणका क्रममा पत्नी सविनासहित पोखरा पुगेको र त्यहाँबाट हेलिकप्टरमार्फत मुस्ताङतर्फ गएको खबरहबले जनाएको छ। पार्टीको बैठककै दिन उनको अनुपस्थितिलाई लिएर रास्वपाभित्र विभिन्न आशंका र चर्चा सुरु भएको छ।

बालेन गत पुस १३ गते रास्वपामा प्रवेश गरे पनि पछिल्लो समय पार्टीका नियमित गतिविधिमा अपेक्षाकृत कम सक्रिय देखिएका छन्। रवि लामिछानेले पार्टीको संगठन विस्तार तथा पदाधिकारी चयन अघि बढाइरहेका बेला बालेन पक्षबाट नाम नआउनुले पार्टीभित्रको शक्ति सन्तुलनबारे थप चर्चा बढाएको छ।

सम्बन्धित समाचार