काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बीपी स्मृति दिवसका अवसरमा आयोजना गरेको ‘ग्रीन रन महिला रि–रन’ प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगिताअन्तर्गत भएको पाँच किलोमिटर दौडमा पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी छन्। उनले निर्धारित दूरी १७ मिनेट ४२.८ सेकेन्डमा पूरा गरिन्। निशा मस्कोटी १७ मिनेट ४६.२ सेकेन्डमा दोस्रो र निर्मला केसी १८ मिनेट ९.१ सेकेन्डमा तेस्रो भइन्।
सुनसरी रोकाया चौथो, श्रृजना पाण्डे पाँचौं र आशा रावत छैठौं भए। पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार पाए। चौथो, पाँचौं र छैठौं हुनेले क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैयाँ प्राप्त गरे।
पाटन दरबार स्क्वायरको मंगलबजारबाट सुरु भएको दौड पुल्चोक, झम्सिखेल, भनिमण्डल, एकान्तकुना, जावलाखेल हुँदै पुनः पाटन दरबार स्क्वायरमै पुगेर सम्पन्न भएको थियो।
नेपाल महिला संघको सहभागितामा आयोजित प्रतियोगिताको सुरुवातअघि स्थानीय नागरिकले धिमे बाजा र लाखे नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी महिलाहरूले बाराको जीतपुर सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका लागि न्याय माग्दै ‘जस्टिस फर गरिमा चौधरी’ लेखिएका प्लेकार्डसहित मौन प्रदर्शनसमेत गरेका थिए।