गरिमा हत्या प्रकरणमा चौथो दिन पनि वीरगञ्ज–पथलैया सडक ठप्प

1.1k Shares

बारा । तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा न्यायको माग गर्दै स्थानीयवासीले वीरगञ्ज–पथलैया सडकखण्डको सिमरामा जारी राखेको आन्दोलन चौथो दिन पनि रोकिएको छैन।

गत बुधबार बिहानदेखि अवरुद्ध सडकमा स्थानीयले टेन्ट टाँगेर धर्ना दिइरहेका छन्। बालिकाको परिवार तथा स्थानीयवासीले घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने र घटनाप्रति लापरबाही गर्ने प्रहरी अधिकारीमाथि पनि छानबिन तथा कारबाही हुनुपर्ने माग राखेका छन्।

बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि र जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा पाँचबुँदे सहमति भएको थियो। उक्त सहमतिअनुसार सिमरा इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी दिलीप क्षेत्रीको सरुवा गरिएको थियो। तर मध्यरातमा भएको सहमतिमा आफूहरूको सहमति नरहेको भन्दै मृतक बालिकाको परिवारले आन्दोलन जारी राखेको हो।

गरिमाको शव अझै कलैया अस्पतालमै रहेको छ। परिवारले शव नबुझी आन्दोलनलाई निरन्तरता दिएको जनाएको छ। परिवारलाई समर्थन जनाउँदै जीतपुरसिमरा उपमहानगरपालिका तथा बाराका विभिन्न क्षेत्रबाट स्थानीयहरू सिमरामा भेला भइरहेका छन्।

सडक अवरुद्ध हुँदा वीरगञ्ज–पथलैया सडकखण्डमा यातायात प्रभावित भएको छ। स्थानीयले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कानुनी कारबाही र पीडित परिवारलाई न्यायको सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

सम्बन्धित समाचार