गरिमा हत्या प्रकरणमा गृहमन्त्री गुरुङको आग्रह : अनुसन्धानलाई काम गर्न दिऔँ

1.1k Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा नागरिक खबरदारी आवश्यक भए पनि अनुसन्धानलाई आफ्नो काम गर्न दिन आग्रह गरेका छन्।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सरकारमाथि प्रश्न उठाउने, कमजोरी देखिए सचेत गराउने र सरकारलाई जवाफदेही बनाउने नागरिकको अधिकार रहेको बताएका छन्। तर घटनाको अनुसन्धानमा अवरोध नपुर्‍याउन उनले आग्रह गरेका हुन्।

उनले एउटा घटनामा दोषीलाई सजाय दिलाउनु मात्रै सरकारको लक्ष्य नभएको उल्लेख गर्दै छोरीहरू सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु सरकारको उद्देश्य रहेको बताएका छन्।

घटनामा कानुनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको भन्दै गुरुङले भविष्यमा यस्ता अपराध दोहोरिन नदिन बलियो कानुनी तथा संस्थागत व्यवस्था निर्माणमा समेत जोड दिएका छन्।

‘आक्रोशलाई न्यायको शक्तिमा बदलौं, गरिमालाई न्याय दिलाऔं’ भन्ने आग्रह गर्दै उनले हरेक छोरीका लागि सुरक्षित नेपाल निर्माण गर्नुपर्ने बताएका छन्।

गरिमा हत्या प्रकरणलाई सरकारले संवेदनशील रूपमा लिएको र विगतका अनुभव तथा कमजोरीबाट पाठ सिक्दै प्रभावकारी अनुसन्धान अघि बढाइरहेको गृहमन्त्री गुरुङको भनाइ छ।

सम्बन्धित समाचार