धनगढी। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अटिजम तथा न्युरो डाइभर्सिटी भएका बालबालिकाको शिक्षासम्बन्धी विषयलाई अब बन्ने शिक्षा ऐनमा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
धनगढीमा आज आयोजित अटिजम तथा न्युरो डाइभर्सिटी भएका बालबालिकाको शिक्षासम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले नयाँ शिक्षा ऐन निर्माणका क्रममा विभिन्न जिल्लामा पुगेर सरोकारवालासँग राय, सुझाव तथा आवश्यक परामर्श लिने काम भइरहेको जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले न्युरो डाइभर्सिटी भएका बालबालिकाका समस्या र उनीहरूको शिक्षाको विषयमा सरकार संवेदनशील रहेको बताउनुभयो । सबै बालबालिकाले समान रूपमा शिक्षा प्राप्त गर्ने वातावरण निर्माणका लागि नीतिगत सुधार आवश्यक रहेको उहाँको भनाइ थियो ।
सरकार गठन भएलगत्तै सातवटै प्रदेशमा अटिजम विद्यालय स्थापना गर्ने घोषणा गरिएको उल्लेख गर्दै मन्त्री पोखरेलले विद्यालय सञ्चालनको मोडालिटीबारे भने छलफल र अध्ययन जारी रहेको बताउनुभयो ।
उहाँले सम्बन्धित क्षेत्रका विज्ञ, अभिभावक तथा सरोकारवालाको सुझावका आधारमा विद्यालय सञ्चालनको उपयुक्त मोडालिटी तय गरिने जानकारी दिनुभयो । अटिजम तथा न्युरो डाइभर्सिटी भएका बालबालिकाको शिक्षा र अधिकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने गरी आगामी शिक्षा नीति तथा कानुनी व्यवस्था अघि बढाइने उहाँको भनाइ थियो।