रवि लामिछानेको चीन भ्रमण स्थगित, नयाँ मिति तय भएको छैन

1.2k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। यसअघि भदौ ७ देखि १४ गतेसम्म अर्थात् अगस्ट २३ देखि ३० सम्म चीन भ्रमण गर्ने तयारीमा रहेका लामिछानेको कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो।

लामिछाने पत्नी निकिता पौडेलसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाने तयारीमा थिए। भ्रमणका क्रममा बेइजिङसँगै तिब्बतको कैलाश मानसरोवर जाने कार्यक्रमसमेत तय गरिएको थियो।

तर चीनका राष्ट्रपति सी चिनफिङसँग भेट हुने सम्भावना नदेखिएपछि तथा नेपालभित्रको पछिल्लो राजनीतिक परिस्थितिमा समेत परिवर्तन आएको भन्दै भ्रमण तत्कालका लागि स्थगित गरिएको स्रोतहरूले बताएका छन्।

भ्रमण स्थगित भए पनि पूर्ण रूपमा रद्द नभएको लामिछानेनिकट स्रोतको भनाइ छ। नयाँ मिति भने अहिलेसम्म तय भइसकेको छैन। लामिछाने असोज अर्थात् मध्य सेप्टेम्बरतिर चीन भ्रमणमा जान सक्ने सम्भावना रहेको बताइएको छ।

यसैबीच, विकासशील देशका सांसदहरूको आठौँ सेमिनारमा सहभागी हुन नेपाली सांसदहरूको पाँच सदस्यीय टोली भने चीन जाने भएको छ। टोलीको नेतृत्व रास्वपाका प्रतिनिधिसभा सदस्य कमल सुवेदीले गर्नेछन्।

टोलीमा राष्ट्रिय सभाका सांसद झक्कु सुवेदी र किरणबाबु श्रेष्ठ, प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी तथा संघीय संसद्का उपसचिव शारदा भण्डारी सहभागी हुनेछन्। उनीहरू भदौ ८ गते चीन प्रस्थान गर्ने कार्यक्रम छ।

सम्बन्धित समाचार