काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद समाधान गर्न युवा नेता नैनसिंह महरले पूर्वसभापति शेरबहादुर देउवासमक्ष तीनवटा विकल्प प्रस्तुत गरेका छन्। कांग्रेसका सभापति गगन थापा र पूर्वसभापति देउवाबीच देखिएको मतभेद अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने भन्दै महरले देउवासँग छलफल गरेका हुन्।
लामो समय उपचारपछि स्वदेश फर्किएका देउवालाई आइतबार बिहान भेटेका महरले पार्टीभित्रको विवाद यसरी नै अघि बढ्न नहुने भन्दै तत्काल संवादमार्फत समाधान खोज्नुपर्ने प्रस्ताव राखेका छन्। आफ्ना प्रस्तावप्रति देउवाले सकारात्मक प्रतिक्रिया दिएको महरले बताएका छन्।
महरका अनुसार उनले कांग्रेसको विवाद समाधानका लागि पहिलो विकल्पका रूपमा सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाबीच प्रत्यक्ष छलफल गराएर सहमतिको वातावरण बनाउने प्रस्ताव गरेका छन्।
उनले दुवै नेताबीच संवाद सुरु भए पार्टीभित्र देखिएको विवाद समाधानतर्फ अघि बढ्न सकिने बताएका छन्। केही समयदेखि आफू दुवै पक्षका नेतासँग संवादमा रहेको र पार्टीलाई विभाजनतर्फ जान नदिन सहमतिको प्रयास गरिरहेको उनको भनाइ छ।
महरले प्रस्तुत गरेको दोस्रो विकल्प भने कांग्रेसको नेतृत्वसम्बन्धी विषयसँग जोडिएको छ। उनका अनुसार सभापति थापा र पूर्वसभापति देउवा दुवैले नेतृत्वबाट पछि हटेर तेस्रो व्यक्तिलाई नेतृत्व सुम्पिन सक्ने र त्यसपछि १५औँ महाधिवेशन गर्ने विकल्प उनले अघि सारेका छन्।
पार्टीभित्रको विवाद व्यक्तिविशेषको टकरावमा सीमित नराखी दीर्घकालीन समाधान खोज्नुपर्ने भन्दै महरले दुवै पक्षले लचकता देखाउनुपर्ने बताएका छन्। उनले नेतृत्व परिवर्तनमार्फत पार्टीभित्र नयाँ सहमतिको आधार तयार पार्न सकिने सम्भावनासमेत औँल्याएका छन्।
महरको तेस्रो प्रस्ताव भने कांग्रेसको विवादसँग सम्बन्धित मुद्दामा अदालतको अन्तिम निर्णय आउनुअघि नै पार्टीभित्र सहमति खोज्ने रहेको छ। उनका अनुसार अदालतबाट अन्तिम फैसला आउनुअघि नै पार्टीभित्रका सबै विवादित विषयमा छलफल गरी सहमतिमा पुग्नुपर्छ। त्यसपछि अदालतको अन्तिम फैसला जुन पक्षमा आए पनि त्यसलाई स्वीकार गरेर अघि बढ्नुपर्ने उनको प्रस्ताव छ।
महरले पार्टीभित्रको विवाद अदालतसम्म पुगे पनि राजनीतिक नेतृत्वले संवादको बाटो बन्द गर्न नहुने बताएका छन्। अदालतको निर्णयलाई सम्मान गर्दै पार्टीको आन्तरिक समस्या भने राजनीतिक संवाद र सहमतिबाट समाधान गर्न सकिने उनको धारणा छ।
महरका अनुसार उनले सभापति गगन थापासँग चार–पाँच दिनअघि भेटेर पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल गरेका थिए। त्यसपछि आइतबार पूर्वसभापति देउवालाई भेटेका हुन्।
देउवा २८ साउनमा उपचारपछि स्वदेश फर्किएयता निरन्तर कांग्रेसका नेता तथा कार्यकर्तासँग भेटघाट गरिरहेका छन्। देउवा पार्टीलाई मिलाएर अघि बढाउने पक्षमा रहेको आफूले पाएको महरले बताएका छन्।
महरले देउवासँगको भेटमा सभापति थापा भेट्न इच्छुक रहेको जानकारी गराउँदै दुई नेताबीच संवाद आवश्यक रहेको बताएका थिए। त्यसमा देउवाले पनि पार्टी मिलाउने विषयमा सकारात्मक धारणा राखेको महरको भनाइ छ।
यद्यपि पार्टीको विवाद अदालतमा पुगेको विषयलाई समेत देउवाले महत्त्व दिएको महरले बताएका छन्। उनका अनुसार देउवाको धारणा संवाद पनि गर्ने र अदालतको फैसला पनि पर्खिने खालको रहेको छ।
कांग्रेसभित्र नेतृत्व, महाधिवेशन तथा पार्टी सञ्चालनका विषयमा देखिएको विवाद चर्किँदै गएपछि महरसहितका केही युवा नेताहरू दुवै पक्षबीच संवाद गराएर सहमति कायम गर्ने प्रयासमा छन्। पछिल्लो पहलले पार्टीभित्रको विवाद समाधानका लागि संवादको वातावरण बन्ने अपेक्षा गरिएको छ।