काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ का ३७ वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका–२ घर भएका ५० वर्षीय रमेश रेउले रहेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार लामाले मलेसिया पठाइदिने भन्दै तीन जनाबाट रु १४ लाख लिएको आरोप छ। त्यस्तै, रेउलेले अमेरिका पठाइदिने प्रलोभन देखाएर एक जनाबाट रु तीन लाख रकम लिएको प्रहरीले जनाएको छ।
रकम लिएपछि सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित प्रहरी टोलीले गत शुक्रबार पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।