काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लामो समयदेखि उर्वर रूपमा अघि बढिरहेको कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुग्नुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।
उमा भुजेल संयोजक रहेको नेकपाले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विगतका अनुभव र कमजोरीको समीक्षा नगरी कम्युनिस्ट शक्तिबीच एकता सम्भव नहुने धारणा व्यक्त गरे।
उनले अत्यधिक जनमत प्राप्त हुँदाहुँदै पनि कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खानुका कारण पहिल्याउनुपर्ने बताए। विगतमा भएका कमजोरीको निष्कर्षमा पुग्न सके मात्रै आगामी बाटो तय गर्न सकिने उनको भनाइ थियो।
प्रचण्डले शान्ति प्रक्रियामा प्रवेश गरेपछि आफूहरूले रणनीतिभन्दा कार्यनीतिमा बढी ध्यान दिएको स्वीकार गरे। करिब चार दशक नेतृत्वमा रहँदा प्राप्त अनुभवका आधारमा आन्दोलनका क्रममा भएका कमजोरी पहिचान गर्नुपर्ने उनले बताए।
उनका अनुसार कम्युनिस्ट शक्तिहरू सरकार गठन, विघटन, मन्त्री तथा प्रधानमन्त्री बनाउनेजस्ता कार्यनीतिक विषयमा बढी केन्द्रित हुँदा विरोधी शक्तिहरू भने कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने दीर्घकालीन रणनीतिमा केन्द्रित थिए।
प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन नदिन विगतमा अमेरिकी साम्राज्यवादले समेत विभिन्न प्रयास गरेको आरोप लगाए।
उनले कम्युनिस्ट शक्तिहरू सरकार सञ्चालन र राजनीतिक समीकरणमा अल्झिरहेका बेला विरोधीहरू भने कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने रणनीतिमा लागेको दाबी गरे। त्यसकै परिणामका रूपमा पछिल्लो भदौ २३ र २४ गते भएका घटनालाई लिनुपर्ने उनको भनाइ थियो।
प्रचण्डले आगामी दिनमा विगतका कमजोरीबाट पाठ सिक्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउनुपर्नेमा जोड दिए।