काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएर नयाँ राजनीतिक दल गठन गरेका धवल शमशेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । शनिबार काठमाडौंको सोल्टी होटलमा भएको भेटमा राणाले पछिल्लो राजनीतिक घटनाक्रमबारे पूर्वराजालाई जानकारी गराएको बताइएको छ ।
हिमानी ट्रस्टको कार्यक्रममा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र सोल्टी होटल पुगेका बेला राणा पनि त्यहाँ उपस्थित थिए । अघिल्लो दिन मात्रै राणाले ‘जय नेपाली पार्टी’ दर्ता गरेका थिए ।
राप्रपाबाट अलग भएपछि राणाले दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी गठन गर्ने सहमति गरेका थिए । उनीहरूबीच लिखित सहमतिसमेत भएको थियो । तर, सहमति लामो समय टिक्न नसकेपछि दुवै अलग भएका थिए । पार्टी दर्ताको समयसम्म राणा र प्रसाईं दुई अलग कित्तामा उभिएका थिए ।
त्यसपछि राणाले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरी आफू र राप्रपाबीचको दूरी बढ्नुका कारण तथा पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । राणानिकट स्रोतका अनुसार उनले राप्रपाभित्रको विवाद, अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैली, पार्टीका पछिल्ला एजेन्डा तथा गतिविधिबारे आफ्नो धारणा राखेका थिए ।
राणाले राजतन्त्र पुनर्स्थापनाको आन्दोलनमा राप्रपाले पर्याप्त सहयोग नगरेको गुनासोसमेत गरेको बताइएको छ । उनले २०८१ चैत १५ गतेको तीनकुने घटनामा राप्रपाको भूमिका गलत रहेको र आफूहरू पक्राउ पर्दासमेत पार्टीबाट आवश्यक सहयोग नपाएको बताएका थिए ।
सोल्टी होटलमा डिनरको समयमा भएको भेटवार्ता करिब डेढ घण्टा चलेको राणानिकट स्रोतको दाबी छ । भेटमा राणाले आफ्ना कुरा राखेपछि पूर्वराजा ज्ञानेन्द्रले मुख्यतः दुई विषयमा जोड दिएको बताइएको छ ।
ज्ञानेन्द्रले एजेन्डा मिल्ने शक्तिहरू ‘सबै मिलेर अघि बढ्दा राम्रो हुने’ धारणा राखेका थिए । मिलेर अघि बढ्दा राजनीतिक शक्ति थप प्रभावकारी हुने उनको आशय रहेको स्रोतको भनाइ छ ।
त्यस्तै, ज्ञानेन्द्रले राणालाई आफ्नो साथ र शुभकामना रहेको बताएको स्रोतले जनाएको छ । राणाले राप्रपासँग सम्बन्ध टुटेको कारण बताउँदै दुर्गा प्रसाईंसँग पनि सहकार्य हुन नसकेको प्रसंग निकालेका थिए । प्रसाईंसँग सँगै जान नसकेको बताएपछि पूर्वराजा ज्ञानेन्द्र फिस्स हाँसेको राणानिकट स्रोतले जनाएको छ ।
राणा पछिल्लो समय राप्रपाबाट अलग भएर नयाँ राजनीतिक शक्ति निर्माणको तयारीमा छन् । उनले शुक्रबार नयाँ दलको केन्द्रीय कमिटीको पहिलो बैठकसमेत सम्पन्न गरेका थिए ।