काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा सार्वजनिक जग्गा खाली गराउने क्रममा गरिब तथा विपन्नको बस्ती मात्रै लक्षित नगर्न सरकारसँग आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले शनिबारदेखि जनकपुरमा सार्वजनिक जमिनमा डोजर चलाउन थालिएपछि स्थानीयमा त्रास उत्पन्न भएको बताए। उनका अनुसार करिब ६५ वटा घरमा डोजर चलाइएको छ।
उनले सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानमा ठूलाबडा र प्रभावशाली व्यक्तिले अतिक्रमण गरेका संरचनामाथि पनि समान रूपमा कारबाही हुनुपर्ने बताए।
‘गरिबहरूको बस्ती मात्रै हटाउने र ठूलाबडालाई नछुने हो कि भन्ने त्रास छ,’ झाले भने, ‘सबैमाथि समान व्यवहार गरियोस्।’
झाका अनुसार गुठी संस्थानसँगको समन्वयमा सार्वजनिक तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका होटल, पोखरी मिचेर बनाइएका पार्किङ, अस्पताल तथा अन्य संरचना हटाउने प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।
उनले निजी व्यक्तिले सार्वजनिक जग्गा भाडामा लगाएर आम्दानी गरिरहेका स्थानमा समेत कारबाही हुनुपर्ने बताए। त्यस्ता संरचना तथा जग्गा खाली गराउन १५ दिनभित्र सूचना दिएर प्रक्रिया अघि बढाउने तयारी रहेको उनले जानकारी दिए।
जनकपुर नेपालका उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै सार्वजनिक जग्गा रहेको क्षेत्र भएको दाबी गर्दै झाले सार्वजनिक जग्गा संरक्षणको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए।
उनका अनुसार २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा तयार गरिएको प्रतिवेदनमा जनकपुरमा करिब ९५० बिघा सार्वजनिक जग्गा अपचलन भएको उल्लेख गरिएको थियो। सोही प्रतिवेदनका आधारमा अहिले सार्वजनिक जग्गा अतिक्रमण हटाउने काम अघि बढाइएको उनले बताए।
‘प्रधानमन्त्रीको पनि विशेष ध्यान राखेर काम भइराखेको छ, त्यसप्रति हामी कृतज्ञ छौँ,’ उनले भने।
तर अभियानको लक्ष्य केवल गरिब तथा सुकुम्बासी बस्ती हटाउनेमा सीमित हुन नहुने झाको भनाइ छ। सार्वजनिक जग्गा अतिक्रमण गर्ने सबैमाथि समान रूपमा कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए।
‘यसको लक्ष्य अधिग्रहण गरिएको जनकपुरको ९५० बिघा जमिनमा हो। त्यो जग्गालाई सार्वजनिक रूपमै फर्काउने अभियान सफल होस्, सजग होस् भन्ने सन्तुलित अनुरोध छ,’ झाले भने।
उनले सार्वजनिक सम्पत्ति संरक्षणका लागि अभियान अघि बढाउँदा प्रभावित नागरिकको अवस्था र वैकल्पिक व्यवस्थालाई समेत ध्यान दिन सरकारसँग आग्रह गरेका छन्।