गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

1.3k Shares

बारा । बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।

किशोरको बयान चलिरहेका बेला बयान कक्षमै खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। भिडियोमा किशोरले घटनाबारे विभिन्न विवरण बताएको देखिन्छ।

प्रहरीसमक्ष दिएको बयानको भिडियो सार्वजनिक भएपछि घटनाको अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको थियो। भिडियो कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान गर्ने क्रममा भिडियो खिच्ने व्यक्तिबाटै सार्वजनिक भएको हुनसक्ने देखिएपछि एक प्रहरीलाई पक्राउ गरिएको हो।

बारा प्रहरीका एसपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरी हिरासतमा राखिएको छ। उनीमाथि फौजदारी कसुरमा कारबाही अघि बढाउने तयारी भइरहेको उनले जानकारी दिए।

भिडियो खिचिएको समयमा बयान कक्षमा पाँच जना प्रहरी देखिएको बताइएको छ। घटनामा संलग्न अन्य प्रहरीको भूमिकाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नाबालक आरोपीको बयानको भिडियो सार्वजनिक हुनु संवेदनशील विषय भएकाले भिडियो खिच्ने तथा सार्वजनिक गर्ने कार्यमा संलग्न व्यक्तिको पहिचान र भूमिकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धान प्रक्रियामा गोपनीयता कायम गर्नुपर्ने विषयमा समेत आवश्यक कदम चालिने जनाएको छ।

सम्बन्धित समाचार