मधेशमा एक वर्षमै १ हजार ९३८ उद्योग–व्यवसाय बन्द

1.3k Shares

जनकपुरधाम । आर्थिक मन्दी, लगानीयोग्य पुँजीको अभाव तथा बैंक तथा वित्तीय संस्थाबाट पर्याप्त ऋण प्रवाह हुन नसक्दा मधेश प्रदेशमा उद्योग तथा व्यवसाय बन्द हुने क्रम बढेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै प्रदेशमा १ हजार ९३८ उद्योग तथा व्यवसायको लगत कट्टा भएको छ।

मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आवमा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फ १ हजार ११७ गरी कुल १ हजार ९३८ उद्योग तथा व्यवसायको लगत कट्टा गरिएको हो।

यद्यपि, यही अवधिमा प्रदेशमा नयाँ उद्योग दर्ता हुने क्रम पनि उल्लेख्य रहेको छ। गत आवमा मधेश प्रदेशका आठ जिल्लामा गरी ५ हजार ६८ वटा नयाँ उद्योग दर्ता भएका छन्।

मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार सबैभन्दा धेरै पर्सामा १ हजार १०१ नयाँ उद्योग दर्ता भएका छन्। धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता भएका छन्।

गत आर्थिक वर्षमा प्रदेशमा ७ हजार ५४० उद्योग नवीकरण भएका छन्। यसले एकातर्फ नयाँ उद्योग स्थापना हुने क्रम रहे पनि अर्कोतर्फ सञ्चालनमा रहेका उद्योग व्यवसाय बन्द हुने अवस्था पनि गम्भीर रहेको देखाउँछ।

वाणिज्यतर्फ पनि हजारौँ फर्म दर्ता

मन्त्रालयका अनुसार गत आवमा वाणिज्यतर्फ प्राइभेट फर्म ६ हजार १२२ वटा र साझेदारी फर्म १८ वटा नयाँ दर्ता भएका छन्। सोही अवधिमा वाणिज्यतर्फ ११ हजार १४४ वटा फर्म नवीकरण भएका छन्।

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायत विभिन्न शीर्षकबाट प्रदेश सरकारले गत आर्थिक वर्षमा ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

पुँजी अभावले व्यवसायी समस्यामा

मन्त्रालयका सूचना अधिकारी महतोका अनुसार विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट पर्याप्त ऋण प्रवाह नहुनु र लगानीका लागि आवश्यक पुँजीको अभावलगायतका कारण उद्योग तथा व्यवसाय बन्द हुने क्रम बढेको हो।

त्यसैगरी, स्थानीय तहबाट समेत उद्योग दर्ता गर्ने व्यवस्था र प्रक्रिया बढ्दै जानुले प्रदेश सरकारको कार्यालयमा दर्ता भएका कतिपय उद्योगको लगत कट्टा हुने सङ्ख्या बढेको उनको भनाइ छ।

महतोका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक लगानी जुटाउन नसक्नु, बजारमा माग कमजोर हुनु तथा आर्थिक गतिविधिमा आएको सुस्तताले व्यवसायीलाई थप दबाबमा पारेको छ।

मधेश प्रदेशमा एकै वर्षमा करिब दुई हजार उद्योग तथा व्यवसायको लगत कट्टा हुनु प्रदेशको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा देखिएको चुनौतीको संकेत भएको मन्त्रालयले जनाएको छ। नयाँ उद्योग दर्ता र लगानीको क्रम कायम रहे पनि सञ्चालनमा रहेका उद्योग टिकाइराख्ने वातावरण बनाउन आवश्यक रहेको सरोकारवालाको भनाइ छ।

सम्बन्धित समाचार