आइफोनको विषय जोडिए पनि तीन जनाको मृत्युको कारण पारिवारिक तनाव हुनसक्ने प्रहरीको निष्कर्ष

1.3k Shares

काठमाडौं । भारतको महाराष्ट्रस्थित छत्रपति सम्भाजीनगरमा एक युवकसहित उनका बुवाआमाको पहाडबाट खसेर मृत्यु भएको घटनालाई सामाजिक सञ्जालमा ‘आइफोनका कारण परिवार नै सखाप’ भएको भन्दै प्रचार गरिएको छ । तर पछिल्लो प्रहरी अनुसन्धानले घटनालाई केवल आइफोनसँग जोडेर हेर्न नमिल्ने देखाएको छ ।

गत अगस्ट २१ मा छत्रपति सम्भाजीनगरको तिसगाउँ क्षेत्रस्थित खवड्या डोंगरमा १८ वर्षीय कुणाल चन्दगुडे, उनका ४८ वर्षीय बुवा मुरलीधर चन्दगुडे र आमा संगीता चन्दगुडे पहाडबाट खसेका थिए । घटनामा तीनै जनाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार कुणाल बिहान करिब १० बजे पहाडमा पुगेका थिए । उनी तनावमा रहेको र आत्महत्या गर्ने बताएको जानकारी पाएपछि उनका बुवाआमा, स्थानीय बासिन्दा, प्रहरी तथा अग्निनियन्त्रक टोली उनलाई सम्झाउन घटनास्थल पुगेका थिए ।

करिब तीन घण्टासम्म कुणाललाई सम्झाउने प्रयास गरिएको थियो । घटनास्थलमा उपस्थित पूर्वसरपञ्च सञ्जय जाधवलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएअनुसार उनकी आमा संगीता छोरालाई भीरको किनारबाट फर्काउन पटक–पटक आग्रह गरिरहेकी थिइन् ।

उनले छोरालाई फकाउन आफ्नो मंगलसूत्रसमेत निकालेर श्रीमान्लाई छोडेर छोरासँगै बस्ने बताएकी थिइन् । उनले आफ्नो सिमकार्डसमेत तोडिदिने बताएको रिपोर्टमा उल्लेख छ ।

तर कुणाललाई सम्झाउने प्रयास सफल भएन । दिउँसो करिब १ बजेतिर उनका बुवा मुरलीधरले छोरालाई समातेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास गरेका थिए । सोही क्रममा सन्तुलन बिग्रिएपछि बाबुछोरा दुवै पहाडबाट खसेका थिए । त्यसलगत्तै आमा संगीताले पनि पहाडबाट हाम्फालेकी थिइन् ।

आइफोनकै कारण घटना भएको दाबी पुष्टि भएन

घटनापछि सार्वजनिक प्रारम्भिक प्रहरी विवरणमा कुणालले नयाँ आइफोन मागेको र परिवारको आर्थिक अवस्थाका कारण उनका बुवाले उक्त माग पूरा गर्न नसकेको उल्लेख थियो । त्यसपछि उनी रिसाएर पहाडतर्फ गएको र आत्महत्या गर्ने धम्की दिएको बताइएको थियो ।

कतिपय रिपोर्टमा आइफोनको किस्ता तिर्न पैसा मागेको विषयमा परिवारमा विवाद भएको उल्लेख भएपछि सामाजिक सञ्जालमा ‘आइफोन नपाएका कारण युवकले आत्महत्या गरे र त्यस क्रममा परिवारका तीनै सदस्यको मृत्यु भयो’ भन्ने दाबी व्यापक बनेको थियो ।

तर पछिल्लो अनुसन्धानले आइफोनको माग पूरा नभएको विषयलाई मात्रै घटनाको कारणका रूपमा पुष्टि गरेको छैन ।

प्रहरीका अनुसार कुणाल र उनकी आमा दुवैले आइफोन प्रयोग गर्दै आएका थिए । अनुसन्धानका क्रममा परिवारमा लामो समयदेखि गम्भीर मतभेद रहेको संकेत भेटिएको छ । पारिवारिक सम्बन्धमा आएको तनावका कारण कुणाल मानसिक रूपमा प्रभावित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

यसअघि पनि आत्महत्याको धम्की दिएको खुलेको

प्रहरी अनुसन्धानमा कुणाल यसअघि सन् २०२५ मा पनि यही पहाडमा पुगेर आत्महत्या गर्ने धम्की दिएको तथ्य फेला परेको छ । त्यतिबेला प्रहरीले उनलाई सम्झाएर परिवारसँग पुनर्मिलन गराएको थियो ।

प्रहरीका अनुसार अघिल्लो घटनामा आइफोनसम्बन्धी मागको विषय आएको थियो । तर अहिले भएको घटनाको मुख्य कारण पनि आइफोन नै हो भन्ने निष्कर्षमा प्रहरी पुगेको छैन ।

यद्यपि कुणाल र उनकी आमाले प्रयोग गर्ने आइफोन किस्तामा खरिद गरिएको थियो कि थिएन तथा किस्ता तिर्ने विषयमा कुनै समस्या थियो कि थिएन भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

आफन्तले गरे सामाजिक सञ्जालका दाबीको विरोध

यसैबीच कुणालकी मावलीतर्फकी आफन्त पल्लवी पाटिलले सामाजिक सञ्जालमा फैलिएका आइफोनसम्बन्धी दाबीको विरोध गरेकी छन् ।

उनले भिडियोमार्फत परिवारको वास्तविक अवस्था नबुझी ‘आइफोन नपाएका कारण कुणालले आमाबुवालाई पनि मर्न बाध्य बनाए’ जस्ता सामग्री सार्वजनिक नगर्न आग्रह गरेकी छन् ।

परिवार शोकमा रहेका बेला अपुष्ट र भ्रामक सामग्रीले पीडा थपेको उनको भनाइ छ ।

यसरी घटनाको वास्तविकता अनुसन्धानकै क्रममा रहे पनि अहिलेसम्म उपलब्ध विवरणले तीन जनाको मृत्युको सम्पूर्ण कारणलाई केवल आइफोनसँग जोड्न नसकिने देखाएको छ । प्रहरीले पारिवारिक विवाद, लामो समयदेखिको तनाव तथा कुणालको विगतको व्यवहारलाई समेत अनुसन्धानको प्रमुख आधार बनाएको छ ।

सम्बन्धित समाचार